नगर प्रहरी भनेको काठमाडौँ महानगरको जस्तो हुनुपर्छ भन्नेगरी काम गर्नुस्: सुनिता डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर प्रहरीलाई नमुना नगरप्रहरी बन्नेगरी काम गर्न निर्देशन दिएकी छन् ।

बुधवार महानगर प्रहरी प्रमुखको पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उनले जनतासँग नम्र व्यवहार गर्दै सेवा प्रवाह गर्न निर्देशन दिएकी हुन् ।

उनले नगर प्रहरी काठमाडौँ महानगरको ब्राण्ड एम्बेसडर भएको उल्लेख गर्दै नमुना प्रहरीको रूपमा काम गर्न आग्रह गरिन् । उनले नगर प्रहरीको कार्यशैली र व्यवहारले महानगरपालिकाको छवि निर्धारण गर्ने बताइन् । कार्यवाहक प्रमुख डंगोलले नगर प्रहरीलाई जनतासँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्न, सेवा नम्र व्यवहारबाट सुरु गर्न तथा चेन अफ कमाण्डको पूर्ण पालना गर्न निर्देशन दिइन् ।

उनले बर्खायामलाई ध्यानमा राख्दै सम्भावित विपद् तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन पनि नगर प्रहरीलाई आग्रह गरिन् । त्यसको लागि अन्य सुरक्षा निकायसँग समन्वय गर्न उहाँले नगर प्रहरी नेतृत्वलाई निर्देशन दिइन् । उनले नगर प्रहरीभित्रको एकता कायम राख्नुपर्नेमा पनि जोड दिइन् । उनले नगर प्रहरीलाई दिनमा कम्तीमा तीन पटक सहरका विभिन्न क्षेत्रमा गस्ती सञ्चालन गर्न निर्देशन दिइन् ।

सडक, फुटपाथ, सडकपेटी अतिक्रमण तथा फोहोर व्यवस्थापनसम्बन्धी गतिविधिमाथि निरन्तर निगरानी राख्नुपर्ने उनको भनाई छ । उनले नगर प्रहरीको वृद्धि–विकास, सरुवा, बढुवा तथा तह मिलानका विषय कानूनसम्मत रूपमा अगाडि बढाइने पनि बताइन् । उनले नगर प्रहरीको कार्यक्षमता अभिवृद्धि, तालिम तथा आवश्यक उपकरण व्यवस्थापनलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाउँदै वरिष्ठ–कनिष्ठको आधारमा विभेद नगरी सबैलाई सम्मानजनक अवसर प्रदान गरिने उल्लेख गरिन् ।

काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले महानगरका नीति निर्देशनहरू अक्षरशः पालन गर्ने बताइन् । उनले महानगर प्रहरी ऐन कार्यान्वयनमा आएको उल्लेख गर्दै अब प्रहरीको वृत्तिविकासमा पनि ध्यान दिन महानगरलाई आग्रह गरे । उनले ऐन कार्यान्वयनमा नआउँदा प्रहरीको वृत्ति विकास लगायतका कामहरू अवरुद्ध बनेको उल्लेख गरिन् ।

उनले भनिन् ‘हामीसँग प्राप्त सीमित स्रोत साधनका बाबजुद रात दिन नभनीकन महानगरका नीतिहरू, महानगरका सम्पूर्ण निर्देशनहरू हामीले अक्षरशः पालना गरेका छौँ । आज मलाई जुन जिम्मेवारी प्रदान भएको छ, त्यो समग्र महानगर प्रहरीका लागि गौरवको विषयको छ, भएको छ ।’

महानगरले बुधवार नगर प्रहरी उपरीक्षक जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गरी जिम्मेवारी हस्तान्तरण गरेको हो ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x