काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएको तीन दिन बितिसक्दा पनि सडक कसरी पुनर्निर्माण गर्ने भन्नेबारे सरकार अझै अन्योलमै रहेको छ।
सडक विभागले मंगलबार पत्रकार सम्मेलन गरी यस राजमार्गको स्थितिबारे अझै टुंगो नलागेको स्पष्ट पारेको हो। विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सडक कसरी खोल्ने भन्नेबारे मंगलबार पनि गहन छलफल भए पनि निष्कर्षमा पुगिएको छैन।
पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पश्चिम नेपालतर्फको मुख्य सडक सम्पर्क टुटेको छ, जसलाई हाल हेटौंडा जोड्ने राजमार्गबाट वैकल्पिक व्यवस्था गरिएको छ। जैसीका अनुसार जियोटेक्निकल टोलीसँगको परामर्शपछि मात्र के गर्ने भन्ने टुंगो लाग्नेछ, र त्यसपछि मात्र त्रिशूली पारि नयाँ ट्र्याक खोल्ने वा अन्य विकल्प अपनाउने निर्णय हुनेछ।
गत आइतबार त्रिशूली नदीको बढ्दो जलस्तरले निरन्तर कटान गरेपछि कृष्णभिरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएको थियो। भदौ १० को बाढीपछि गल्छी क्षेत्र डुबानमा परी पृथ्वी राजमार्ग पहिल्यै अवरुद्ध भएको र त्यो अवरोध हटाई राजमार्ग पुनः सञ्चालनमा ल्याएको दोस्रो दिनमै कृष्णभिरमा सडक भासिएको थियो।
नागढुंगा–मुग्लिन खण्डअन्तर्गत पर्ने पृथ्वी राजमार्ग काठमाडौंलाई देशका अन्य भाग तथा बाह्य बजारसँग जोड्ने प्रमुख लाइफलाइन मानिन्छ, र राजधानीको खाद्यान्नलगायत आवश्यक वस्तुको आपूर्तिमा यसको हिस्सा दुई तिहाइभन्दा बढी रहेको बताइन्छ। सडक अवरुद्ध भएपछि इन्धन आपूर्तिका लागि सरकारले वैकल्पिक मार्ग अपनाउने निर्णय गरेको छ। विभागले भासिएको क्षेत्रको प्राविधिक तथा भौगोलिक अध्ययनका लागि काठमाडौंबाट विज्ञ टोली पठाएको छ, जसको विस्तृत प्रतिवेदनपछि मात्र मर्मत र पुनर्निर्माणको प्रक्रिया अघि बढ्ने जनाइएको छ।








