काठमाडौँ। लगातारको वर्षा र बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। सडक विभागका अनुसार इलाम, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा र नुवाकोटका विभिन्न सडक अवरुद्ध रहेका छन्।
नुवाकोटको शिवपुरी गाउँपालिका–५ घडेरीखोला क्षेत्रमा पहिरोका कारण टोखा–छहरे सडकखण्ड प्रभावित भएको छ भने मकवानपुरको हेटौँडा–टिङ्गन–बागमती–ललितपुर सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नेपाल प्रहरीले हालै जारी गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रुकुम पश्चिम, लमजुङ र धादिङका केही सडक तथा राजमार्ग समेत आंशिक वा पूर्ण रूपमा अवरुद्ध रहेका छन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडकखण्ड पनि प्रभावित बनेको छ।
लगातारको वर्षा, बाढी तथा पहिरोका कारण सडकमा जुनसुकै बेला अवरोध हुनसक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।








