क्यानडाद्वारा अमेरिकी वस्तुमा ५० प्रतिशतसम्म जवाफी भन्सार र राहत प्याकेज घोषणा

ओटावा ।  दुई परम्परागत मित्रराष्ट्रहरू अमेरिका र क्यानडाबीचको व्यापार युद्ध थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाली उत्पादनहरूमा ५० प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ) लागू गरेपछि क्यानडाले पनि अमेरिकी वस्तुहरूमा १५ देखि ५० प्रतिशतसम्मको जवाफी भन्सार महसुल घोषणा गरेको छ। प्रधानमन्त्री मार्क कार्नीको पूर्वघोषणाअनुसार सेप्टेम्बर ८ देखि लागू हुने यी जवाफी भन्सार दरहरू अमेरिकी भन्सार दरहरूसँगै मिलाएर तोकिएको क्यानडाका अर्थमन्त्री फ्रान्सवा-फिलिप साम्पेनले जानकारी दिनुभएको छ।

नयाँ व्यवस्थाअनुसार यसअघि २५ प्रतिशत भन्सार लाग्दै आएका अमेरिकी स्टिल र एल्युमिनियम उत्पादनहरूमा अब ५० प्रतिशत महसुल लाग्नेछ भने गृहोपयोगी उपकरणहरू, चिजसहितका डेरी उत्पादनहरूमा २५ प्रतिशत र विद्युतीय औजारहरूमा १५ प्रतिशत भन्सार तोकिएको छ। यी भन्सार दरहरूले अमेरिकाबाट क्यानडामा हुने कुल आयातको करिब ७.३ प्रतिशत हिस्सा ओगट्नेछन्।

अमेरिकी कदमबाट प्रभावित हुने क्यानडाली कम्पनी र श्रमिकहरूको संरक्षणका लागि क्यानडा सरकारले साढे ७ अर्ब क्यानडाली डलर (५.४ अर्ब अमेरिकी डलर) को राहत प्याकेजसमेत सार्वजनिक गरेको छ। अर्थमन्त्री साम्पेनले यो क्यानडामाथि आइपरेको अभूतपूर्व चुनौती भए पनि देश एकढिक्का भएर सामना गर्न तयार रहेको बताउनुभयो।

यस्तै उद्योग मन्त्री मेलानी जोलीले नागरिकहरूलाई स्थानीय उत्पादन प्रयोग गर्न आग्रह गर्दै नयाँ व्यापारिक साझेदारहरूसँग सहकार्य बढाउने र ट्रम्पले क्यानडाली गाडीहरूमा ५० प्रतिशत भन्सार पुर्‍याएमा कडा प्रतिवाद गर्ने चेतावनी दिनुभयो। अर्कोतर्फ, प्रधानमन्त्री कार्नीले अमेरिकी वार्ताकारहरूले क्यानडाको अन्य देशहरूसँगको व्यापारिक अधिकार खोस्न खोजेको र क्युबेकको फ्रान्सेली भाषा तथा संस्कृतिमाथि अनुचित शर्तहरू राखेकाले सम्झौता हुन नसकेको स्पष्ट पार्नुभएको छ।

यसैबीच, राष्ट्रपति ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने जस्ता विवादास्पद अभिव्यक्ति दोहोर्‍याउँदै ‘लेक ओन्टारियो’ को नाम फेरेर ‘लेक अमेरिका’ राख्ने टिप्पणी गरेपछि अन्टारियोका प्रिमियर डग फोर्डले अमेरिकातर्फ निर्यात हुने बिजुलीमा अतिरिक्त शुल्क लगाउने चेतावनी दिनुभएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x