अमेरिकाद्वारा इरानविरुद्ध ‘अपरेशन इकोनोमिक आउटकास्ट’: ६० भन्दा बढी निकाय र व्यक्तिमाथि प्रतिबन्ध

वासिङ्टन । अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा पेट्रोलियम व्यापारमा संलग्न रहेको आरोपमा झन्डै ६० निकाय, व्यक्ति र जलपोतहरूमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार ‘अपरेशन इकोनोमिक आउटकास्ट’ अन्तर्गत यो कारबाही गरिएको हो।

विदेश मन्त्रालयद्वारा जारी विवरण अनुसार, अमेरिकी सेना र उसका सहयोगीहरूमाथि भएका आक्रमणमा सहयोग पुर्‍याउनेहरूलाई सार्वजनिक गर्न र इरानी शासनले प्राप्त गर्ने राजस्व रोक्न यी उपायहरू लागू गरिएको हो। इरानको पेट्रोलियम राजस्व र परम्परागत हतियार विस्तारलाई लक्षित गर्दै कार्यकारी आदेश १३८४६ र १३९४९ अनुसार प्रतिबन्धहरू लगाइएका छन्।

यस कदमअन्तर्गत अमेरिकाले ‘दादेनेगार स्टार्टअप स्टुडियो’ लाई प्रतिबन्धित सूचीमा राखेको छ। सो कम्पनीले इरानी सेनालाई अमेरिकी र उसका साझेदारका संरचनाहरूलाई निशाना बनाउन चीनको व्यावसायिक स्याटेलाइट तस्बिर उपलब्ध गराएको आरोप छ। यसैगरी, अमेरिकी सैन्य सम्पत्तिसम्बन्धी सूचना प्राप्त गरेको आरोपमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) को साइबर-इलेक्ट्रोनिक कमान्डलाई पनि प्रतिबन्ध लगाइएको छ।

प्रतिबन्धको सूचीमा आइआरजिसीका कमाण्डर-इन-चिफ अहमद वाहिदीसहितका उच्च सैन्य अधिकारीहरू परेका छन्। वाहिदी र अर्का वरिष्ठ नेता अली अब्दुल्लाहीसम्बन्धी जानकारी दिनेलाई १० मिलियन अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा अमेरिकी ‘रिभार्ड्स फर जस्टिस’ कार्यक्रमले गरेको छ।

यसैगरी, इरानी पेट्रोलियम तथा पेट्रोकेमिकल उत्पादनहरूको ओसारपसारमा संलग्न अन्तर्राष्ट्रिय बिचौलिया र ‘डार्क फ्लिट’ (स्याडो ट्याङ्कर) हरूलाई पनि प्रतिबन्ध पारिएको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पत्रकार सम्मेलनमा बोल्दै यो अभियानको मुख्य उद्देश्य इरानको विश्वव्यापी वित्तीय पहुँच काट्नु र शासनलाई सघाउने आयस्रोतहरू ठप्प पार्नु रहेको बताए। बेसेन्टका अनुसार इरानसामु अब पूर्ण रूपमा विश्वव्यापी अलगावमा पर्ने वा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा फर्कने गरी दुई वटा मात्र विकल्प बाँकी रहेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x