सशस्त्र प्रहरीद्वारा ५४ स्थानमा मनसुन उद्धार वेस सञ्चालन

काठमाडौँ, ११ असार — सशस्त्र प्रहरी बलले आगामी मनसुनजन्य विपद्को सामना गर्न देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेस स्थापना गरेको छ । स्थायी कार्यालयबाट विपद्ग्रस्त क्षेत्रमा उद्धार टोली पुग्न समय लाग्न सक्ने भएकाले जोखिमयुक्त स्थानको पहिचान गरी ती वेस राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा ६, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा चार, लुम्बिनीमा सात, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा आठ अस्थायी वेस सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै, हिमाल, पहाड र तराईका १६ जिल्लामा सशस्त्र प्रहरीले विपद् व्यवस्थापनका लागि स्थायी वेस समेत स्थापना गरेको छ । ती जिल्लाहरूमा धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलाली रहेका छन् । यी वेस वर्षभरि नै सक्रिय रहने सशस्त्र प्रहरीले बताएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता तथा नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले भने, “यी स्थायी कार्यालय हुन, जुन वर्षैभरि रहन्छन् । उपलब्ध स्रोत र साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्नेगरी योजना बनेका छन् ।”

यसवर्षको मनसुनसँग जुध्न आठ हजार एक सय ८० सशस्त्र प्रहरी कर्मचारीलाई २४ सै घन्टा तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले जानकारी दिए । उनका अनुसार असार मसान्तभित्र सबै सशस्त्र प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापनसम्बन्धी अनुशिक्षण तालिम दिइनेछ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपटकको मनसुनमा औसतभन्दा कम वर्षा हुने अनुमान गरे पनि देशभर करिब ५१ हजार आठ सय ८६ घरधुरीका करिब दुई लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको तथ्यांकअनुसार कोशी प्रदेशमा ३८ हजार सात सय ३६, मधेसमा ३५ हजार ३६१, बागमतीमा ३२ हजार ८९७, गण्डकीमा २१ हजार ६४१, लुम्बिनीमा ५१ हजार ६२६, कर्णालीमा १३ हजार १७५ र सुदूरपश्चिम प्रदेशमा ३३ हजार २२७ जना प्रभावित हुने अनुमान गरिएको छ ।

बाढी तथा डुबानमा परेकाको उद्धारका लागि सशस्त्र प्रहरीसँग रहेका ८२ वटा र्याफ्ट बोट, ५३ वटा मोटर बोट, चार हजार सात सय १० विशिष्ट तालिमप्राप्त कर्मचारी र १३४ गोताखोरलाई आवश्यक उपकरणसहित देशभरका ११ जोखिमयुक्त क्षेत्रमा तैनाथ गरिएको प्रवक्ता कार्कीले बताए ।

एक लाख ६८ हजार सूचक सहितको विपद् सूचना सञ्जाल तयार

विपद्को सूचना समयमै प्राप्त गर्न सशस्त्र प्रहरीले एक लाख ६८ हजार ९५६ जना विपद् सूचकको सञ्जाल निर्माण गरेको छ । सो सञ्जाल अन्तर्गतका सूचकले आफ्नो नजिकको क्षेत्रमा विपद् घटेको अवस्था तुरुन्त नजिकको सशस्त्र प्रहरी इकाईमा जानकारी गराउनेछन् ।

त्यस्तै, उद्धारका क्रममा सूचना प्रवाह सहज बनाउन ‘एपिएफ–कम्युनिटी अलर्ट सिस्टम’ (एपिएफ–सिएएस) समेत सञ्चालनमा ल्याइएको छ । उक्त प्रणालीमार्फत विपद्को सूचना प्रत्येक बाहिनीस्तरको परिचालन कक्षमा तत्काल पुग्ने र त्यसका आधारमा द्रुत उद्धारका लागि आदेश प्रवाह हुने प्रवक्ता कार्कीले स्पष्ट पारे ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x