पेरिस । फ्रान्सले कृत्रिम बुद्धिमत्ता (एआई) र डाटा सेन्टर लगायतका क्षेत्रको विकासका लागि ९३ अर्ब युरो (१०८ अर्ब डलर) बराबरको वैदेशिक लगानी भित्र्याउने भएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त लगानी योजनाको घोषणा गरेका हुन्। वार्षिक रूपमा आयोजना हुने ‘चुज फ्रान्स’ (फ्रान्सलाई छान्नुहोस्) बैठकको अवसरमा यो ऐतिहासिक प्रतिबद्धता आएको हो। विगत आठ वर्षमा जम्मा भएको कूल ८७ अर्ब युरोको वैदेशिक लगानीको रेकर्डलाई उछिन्दै यस पटक ठूलो रकम सुनिश्चित भएको राष्ट्रपति म्याक्रोँले जानकारी दिए। यो लगानीले देशमा प्रविधि क्षेत्रको विकास गर्नुका साथै १५ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने दाबी गरिएको छ।
यस वर्षको कुल प्रतिबद्धतामध्ये जापानी प्रविधि लगानीकर्ता कम्पनी सफ्टबैङ्कका संस्थापक मासायोसी सनले मात्रै ४५ अर्ब युरो लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। उक्त रकम सन् २०३१ सम्ममा उत्तरी फ्रान्समा स्थापना हुने डाटा सेन्टरहरूमा खर्च गरिनेछ। यो लगानी कृत्रिम बुद्धिमत्ता, डाटा सेन्टर, सेमीकन्डक्टर, महत्त्वपूर्ण खनिज, ट्याक्टर, ट्रक, स्टिल र स्वास्थ्य सेवा जस्ता बहुआयामिक क्षेत्रहरूमा परिचालन गरिने राष्ट्रपति म्याक्रोँले प्रस्ट पारेका छन्।
राष्ट्रपति म्याक्रोँका अनुसार यी परियोजनाहरूले फ्रान्सलाई डाटा सेन्टरको क्षेत्रमा अग्रणी देश बनाउनेछन् र युरोपको समग्र कम्प्युटिङ क्षमतामा वृद्धि गर्नेछन्। अमेरिका र चीनले जस्तै युरोपमा कम्प्युटिङ क्षमतामा रहेको खाडललाई पूर्ण गर्न लागिएको भन्दै उनले यो योजनाले एआईमार्फत औद्योगिकीकरणका लागि एआई रोबोट उत्पादनको बलियो आधार खडा गर्ने विश्वास व्यक्त गरे। लगानीकर्ता सफ्टबैङ्कका संस्थापक सोनले फ्रान्सलाई रोज्नुको मुख्य कारण त्यहाँको सुदृढ आणविक ऊर्जा प्रणाली रहेको स्पष्ट पारेका छन्। बिजुलीलाई कच्चा पदार्थका रूपमा प्रयोग गरेर उच्च मूल्यको कृत्रिम बुद्धिमत्ता निर्माण र निर्यात गर्न सकिने भन्दै उनले फ्रान्सलाई युरोपको एआई केन्द्र बनाउन सक्ने क्षमता आफूहरूसँग रहेको बताए।







