सेफ राइडले नेपालभर सेवा विस्तार गर्ने

काठमाडौं । अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली (एनआरएन)को लगानीमा स्थापना गरिएको सवारी–साझेदारी सेवा प्लेटफर्म सेफ राइडले नेपालमा आफ्नो सेवा विस्तार गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

सेफ राइडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डी.बी. रावतका अनुसार कम्पनीको पहिलो सेवा दाङ जिल्लाबाट शुभारम्भ गरिनेछ । दाङ आफ्नो जन्मथलो भएकाले आफ्नै गाउँ तथा जिल्लाबाट सेवा सुरु गर्ने उद्देश्यले दाङबाट सेवा प्रारम्भ गर्न लागिएको उनले बताए । प्रारम्भिक चरणमा घोराही, तुलसीपुर, लमही तथा भालुवाङ क्षेत्रमा मोटरसाइकल, अटोरिक्सा, कार तथा साइकल सेवा सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दाङबाट सेवा सुरु गरेपछि क्रमशः राप्ती अञ्चलका पहाडी जिल्लाहरू हुँदै नेपालका अन्य जिल्लाहरूमा सेवा विस्तार गरिनेछ । काठमाडौं बाहिरका धेरै जिल्लामा सेवा विस्तार गरिसकेपछि मात्र काठमाडौंमा सेवा सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

सेफ राइडले छिट्टै आफ्नो मोबाइल अनुप्रयोग सार्वजनिक गर्दै नेपालभर सुरक्षित, सस्तो र छिटो सवारी–साझेदारी सेवा प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ ।

काठमाडौंदेखि कर्णाली लगायतका दुर्गम जिल्लामा पनि प्रविधिमैत्री यातायात सेवा पु¥याउने लक्ष्य कम्पनीले राखेको छ । गाउँ–गाउँसम्म सेवा विस्तार गर्दै नेपाली युवालाई स्वरोजगारको अवसर सिर्जना गर्ने योजना रहेको सेफ राइडले जनाएको छ । कम्पनीका अनुसार आगामी एक वर्षभित्र करिब एक लाख स्वरोजगार अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ । साथै कम्पनीबाट प्राप्त आम्दानी पुनः नेपालमै लगानी गरी देशको आर्थिक विकास, रोजगारी सिर्जना तथा स्थानीय सेवा विस्तारमा उपयोग गरिने बताइएको छ ।

रावतका अनुसार विश्वभर रहेका नेपाली तथा एनआरएनहरूले आफ्नै गाउँ–ठाउँको विकासका लागि लगानी गर्ने हो भने नेपालको विकास छिट्टै सम्भव हुने विश्वास व्यक्त गरे । दाङबाट सेफ राइडको सेवा सुरु गर्नुको मुख्य उद्देश्य आफ्नो जन्मभूमिको विकासमा योगदान गरौँ भन्ने सन्देश दिनु रहेको उनको भनाइ छ । “हामी बनाउँछौँ हाम्रो ठाउँ” भन्ने अभियानअन्तर्गत सेफ राइड अघि बढिरहेको कम्पनीले जनाएको छ ।

सेफ राइडले पठाओ, इन्ड्राइभ, याङ्गो तथा उबर जस्ता कम्पनीहरूको शैलीभन्दा फरक मोडेलमा काम गर्ने दाबी गरेको छ । कम्पनीका अनुसार अन्य विदेशी कम्पनीहरू मुख्य रूपमा नाफा कमाएर पूँजी विदेश लैजाने उद्देश्यमा केन्द्रित भए पनि सेफ राइडको प्राथमिकता नेपालमै लगानी, नेपालमै रोजगारी सिर्जना तथा देशको आर्थिक विकासमा योगदान गर्नु रहेको छ ।

कम्पनीका संस्थापक डी.बी. रावतले नेपालमा ठूलो लगानी तथा रोजगारी सिर्जना गर्ने योजना भए पनि सरकार सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग आफ्ना योजना प्रस्तुत गर्ने अवसर सहज रूपमा प्राप्त हुन नसकेको गुनासो गरे । सरकारले विश्वभर रहेका नेपालीलाई नेपालमा लगानी गर्न आह्वान गरे पनि व्यवहारिक रूपमा लगानीकर्ताले अपेक्षित सहकार्य पाउन नसकेको उनको भनाइ छ ।

यसैबीच सेफ राइडले प्रबन्ध निर्देशक पदका लागि आवेदन खुला गरेको जनाएको छ । इच्छुक उम्मेदवारहरूले सेफ राइडको फेसबुक पेजमार्फत आफ्नो जीवनी विवरण सहित निःशुल्क आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । उम्मेदवारहरूले आफूले अपेक्षा गरेको तलब, भत्ता तथा अन्य सुविधा पनि आवेदनमै खुलाउन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । प्राप्त आवेदनहरूमध्येबाट छोटो सूची तयार गरी अन्तर्वार्ताका लागि बोलाइने बताइएको छ ।

सेफ राइडमा आधुनिक सवारी–साझेदारी सेवामा आवश्यक पर्ने उन्नत सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ । यात्रु तथा चालकको सुरक्षा प्राथमिकतामा राख्दै प्रत्यक्ष यात्रा अनुरोध प्रणाली, विश्वव्यापी स्थान निर्धारण प्रणाली (जीपीएस), आपतकालीन सहायता बटन, भाडा पूर्वानुमान प्रणाली, डिजिटल वालेट तथा मोबाइल भुक्तानी प्रणाली, बीमा प्रणाली लगायतका सुविधा राखिएको छ ।

यसैगरी यात्रा इतिहास, सेवा मूल्याङ्कन तथा समीक्षा प्रणाली, ग्राहक सहायता सेवा, चालक बुकिङ प्रणाली, नजिकको सवारी स्वतः पत्ता लगाउने प्रणाली, कम इन्टरनेटमा पनि चल्ने प्रविधि, डिजिटल नक्सा, सवारी–साझेदारी तथा यात्रु सूचना प्रणाली, यात्रा रद्द कारण ट्र्याकिङ प्रणाली तथा दूरी–आधारित भाडा सुरक्षा प्रणाली जस्ता आधुनिक सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x