बेइजिङ । चीनले इन्टरनेट प्रविधिका लागि तयार पारिएको एउटा नयाँ परीक्षण उपग्रह (स्याटेलाइट) सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। आइतबार दक्षिण-पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ भूउपग्रह प्रक्षेपण केन्द्रबाट उक्त उपग्रहको सफल प्रक्षेपण गरिएको हो।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार बेइजिङ समयअनुसार आइतबार बिहान २:०७ बजे ‘लङ मार्च-टुडी’ (Long March-2D) वाहक रकेटमार्फत सो उपग्रह प्रक्षेपण गरिएको थियो। प्रक्षेपणपश्चात् उपग्रहले आफ्नो पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरिसकेको छ।
यस उपग्रहको मुख्य उद्देश्य मोबाइल फोन र भूउपग्रहबीच सिधा ब्रोडब्यान्ड जडान (direct broadband connectivity) तथा एकीकृत अन्तरिक्ष-जमिन नेटवर्क प्रविधिहरूको प्राविधिक परीक्षण एवं प्रमाणीकरण गर्नु रहेको जनाइएको छ।
यो प्रक्षेपण चीनको प्रतिष्ठित ‘लङ मार्च’ वाहक रकेट शृङ्खलाको ६४६औँ उडान मिसन हो।








