बेरुत। इजरायल र लेबनानबीच युद्धविराम कायम रहँदारहँदै पनि दक्षिण लेबनानमा इजरायली आक्रमण जारी छ। सोमबार राति बेरुतबाट ९५ किलोमिटर टाढा रहेको कफर डोनिन सहरमा एउटा घरमा इजरायली हमला भयो, जसमा ६ जनाको मृत्यु भयो र ७ जना घाइते भए।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले यो घटना रिपोर्ट गरेको हो। घाइतेहरूलाई उपचारका लागि तटीय सहर टायरको अस्पताल पुर्याइएको छ।
अप्रिल १७ मा युद्धविराम सम्झौता भएपछि पनि इजरायलले दक्षिण लेबनानमा आक्रमण तीव्र पारेको छ। लेबनानी नेताहरूले बेरुतका लागि अमेरिकी राजदूतलाई इजरायललाई युद्धविराम अवधिमा हमला रोक्न दबाब दिन आग्रह गरेका छन्। इजरायलले भने आफूतर्फबाट पनि गोलीबारी भएको बताएको छ।
इजरायली सेनाका अनुसार सप्ताहन्तमा लेबनानसँगको सिमाना नजिकको लडाइँमा एक सैनिकको मृत्यु भयो। युद्ध सुरु भएदेखि अहिलेसम्म इजरायलका १८ सैनिक र एक नागरिकको ज्यान गएको सेनाले जनाएको छ।
लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार, लेबनान गत मार्च २ मा मध्यपूर्व युद्धमा तानिएपछि अहिलेसम्म २,८०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
मंगलबार एनएनएले दक्षिण लेबनानका अन्य सहरहरू नजिक पनि इजरायली हमला भएको रिपोर्ट गर्यो। त्यसैगरी इजरायली सेनाले पूर्वी लेबनानको बेका उपत्यकाको सोहमोर सहर खाली गर्न आदेश जारी गरेको छ।








