सैन्य झडप: युद्धविराम सङ्कटमा, मध्यपूर्वमा तनाव बढ्दो

वासिङ्टन । हर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी र इरानी सैन्य बलबीच भएको नयाँ गोलाबारीले केही साताअघि कायम गरिएको युद्धविरामको भविष्यमाथि प्रश्न खडा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अझै कायम रहेको दाबी गरे पनि दुवै पक्षले एकअर्कामाथि आक्रमणको आरोप लगाएका छन्, जसले मध्यपूर्वमा थप ठूलो द्वन्द्व निम्त्याउने चिन्ता बढाएको छ।

अमेरिकी सेनाका अनुसार इरानी सैन्य बलले हर्मुज जलसन्धिमा गस्ती गरिरहेका तीनवटा अमेरिकी ‘डिस्ट्रोयर’ युद्धपोतलाई मिसाइल, ड्रोन र साना डुङ्गामार्फत निशाना बनाएका थिए। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उक्त आक्रमणलाई विफल पारिएको र जवाफमा इरानी सैन्य संरचनामाथि कारबाही गरिएको जानकारी दिएको छ। सेन्टकमले आफ्ना जहाजमा कुनै क्षति नभएको र आफूहरू तनाव बढाउने पक्षमा नरहेको तर आत्मरक्षाका लागि कदम चाल्न बाध्य भएको उल्लेख गरेको छ।

यता तेहरानले भने अमेरिकाले नै युद्धविराम उल्लङ्घन गरेको दाबी गरेको छ। इरानको केन्द्रीय सैन्य कमान्डका अनुसार अमेरिकी पक्षले तेल ट्याङ्कर र अन्य व्यापारिक जहाजमाथि आक्रमण गरेपछि प्रतिशोधस्वरूप अमेरिकी युद्धपोतलाई निशाना बनाइएको हो। अप्रिल ८ देखि लागू भएको यस युद्धविरामले अमेरिका, इजरायल र इरानबीचको प्रत्यक्ष तनाव कम गर्ने अपेक्षा गरिए पनि पछिल्लो घटनाले उक्त सहमति कमजोर भएको सङ्केत दिएको छ।

संयुक्त अरब इमिरेट्स (युएई) ले शुक्रबार आफ्नो हवाई सुरक्षा प्रणालीले इरानबाट आएका मिसाइल र ड्रोनहरू रोक्ने प्रयास गरिरहेको जनाएको छ। यसले द्वन्द्वको प्रभाव खाडीका अन्य मुलुकसम्म फैलिन थालेको देखाउँछ। वासिङ्टनमा पत्रकारहरूसँग बोल्दै राष्ट्रपति ट्रम्पले भने, “हो, युद्धविराम अझै छ। उनीहरूले आज हामीलाई उक्साए, हामीले कडा जवाफ दियौं।” तर उनले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा भने इरानले तत्काल सम्झौता नगरे अझ “तीव्र र हिंसक प्रतिक्रिया” दिने चेतावनी दिएका छन्।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानले आफ्नो धारणा अन्तिम रूप दिएपछि मध्यस्थकर्ता पाकिस्तानलाई जानकारी गराइने बताएका छन्। पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले युद्धविरामलाई स्थायी शान्तिमा बदल्ने प्रयास गरिरहेकै बेला यो भिडन्त भएको हो। इरानभित्र पनि सर्वसाधारणमा निराशा छाएको छ; तेहरानका एक फोटोग्राफर सेरभिनले एएफपीसँग कुरा गर्दै दुवै पक्ष वास्तविक सम्झौतामा पुग्ने मनस्थितिमा नरहेको टिप्पणी गरे।

यो तनावको असर लेबनानसम्म पुगेको छ, जहाँ दक्षिणी बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाह कमान्डर मारिएपछि त्यहाँको स्थिति पनि अस्थिर बनेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारको इजरायली हवाई हमलामा कम्तीमा १२ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि हालसम्म हर्मुज क्षेत्रमा करिब १,५०० जहाज र २०,००० भन्दा बढी चालक दलका सदस्य अलपत्र परेका छन्। यसैबीच, ट्रम्पले इरानलाई आणविक हतियार बनाउन नदिने विषयमा युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनसँग सहमति भएको बताएका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x