भक्तपुर । नयाँ वर्ष २०८३ तथा ऐतिहासिक विस्काः जात्राको पूर्वसन्ध्यामा आयोजना हुन लागेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ को तयारी तीव्र पारिएको छ। औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज व्याण्डको संयुक्त आयोजनामा आगामी चैत २६ गतेदेखि वैशाख ६ गतेसम्म सल्लाघारीमा उक्त महोत्सव सञ्चालन हुनेछ।
भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा विकास गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको संयोजक दीपक थापाले जानकारी दिए। महोत्सवको तयारी अहिले अन्तिम चरणमा पुगेको उनले बताए।
महोत्सवमा १८० भन्दा बढी प्रदर्शनी कक्ष (स्टल) रहने आयोजकले जनाएको छ। ती स्टलमा दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री बिक्रीका लागि राखिनेछ। साथै, औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार र इलेक्ट्रोनिक्स सामग्रीको प्रदर्शनीसमेत गरिनेछ।
यस वर्षको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ को प्रतिकृति राखिने भएको छ। बालबालिकाको मनोरञ्जनका लागि रोटे पिङ, ड्रागन ट्रेन र नाउ लगायतका खेल साधनको व्यवस्था गरिएको छ।
महोत्सव अवधिभर दैनिक रूपमा खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्यका साथै राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ। विशेषगरी वैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकारको सहभागितामा विशेष कन्सर्ट आयोजना हुने आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए।
स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्य राखिएको यस मेलामा करिब दुई लाख दर्शकले अवलोकन गर्ने र पाँच करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ।








