अर्जेन्टिनाको भटमासले बढायो नेपालको निर्यात

काठमाडौं । मुस्किलले एक खर्ब पुग्ने नेपालको निर्यात पछिल्ला केही वर्षयता दुई खर्ब नाघ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा मात्रै मुलुकले एक खर्ब ९१ अर्ब रुपियाँको वस्तु निर्यात गरेको तथ्याङ्क भन्सार विभागले आइतबार सार्वजनिक गरेको छ । यही प्रवृत्ति कायम रहे चालु आवका बाँकी चार महिनामा नेपालबाट सहजै दुई खर्बभन्दा बढीको निर्यात हुने देखिन्छ ।

निर्यात व्यापारमा देखिएको यस्तो उछाल मुलुकभित्रै उत्पादित वस्तुको अन्तर्राष्ट्रिय बजारमा माग बढेका कारण भने होइन । विभागको तथ्याङ्क अनुसार फागुनसम्म नेपालबाट सबैभन्दा बढी सोयाबिन तेल निर्यात भएको छ । उक्त महिनासम्म नेपालले ७५ अर्ब ७७ करोड रुपियाँको सोयाबिन तेल निर्यात गरेको छ जुन कुल निर्यातको करिब ४० प्रतिशत हुन आउँछ ।

निर्यातमा अधिक हिस्सा ओगटे पनि सोयाबिन तेलको वास्तविक उत्पादक मुलुक भने नेपाल होइन । नेपालको निर्यातलाई उकासेको सोयाबिन तेल बनाउन नेपालले अर्जेन्टिनाको कच्चा सोयाबिन तेल प्रयोग गरेको विभागको तथ्याङ्कले देखाउँछ । अर्थात् नेपालले सबैभन्दा धेरै निर्यात गर्ने सोयाबिन तेलको वास्तविक उत्पादक मुलुक भने अर्जेन्टिना रहेको देखिन्छ । फागुनसम्म नेपालले अर्जेन्टिनाबाट ६६ अर्ब ३६ करोड रुपियाँ बराबरको कच्चा भटमास तेल आयात गरेको छ । अर्जेन्टिनाबाट कच्चा तेल आयात गर्ने, नेपालमा प्रशोधन गर्ने र त्यसलाई भारत निर्यात गर्ने चक्रले मुलुकको निर्यात व्यापार उल्लेख्य बढेको देखिएको हो ।

कच्चा भटमास तेलको आयातले नेपालको निर्यात मात्र बढाएको छैन यसले व्यापारका नयाँ आयाम थपेको छ । नेपालले सर्वाधिक आयात गर्ने डिजेलपछि दोस्रोमा कच्चा भटमास तेल रहेको छ । पेट्रोल, एलपी ग्यास जस्ता अत्यावश्यकीय वस्तुको आयातभन्दा बढी कच्चा भटमासको आयात भएको तथ्याङ्कले देखाउँछ ।

अर्कोतिर यसले नेपालको अन्तर्राष्ट्रिय व्यापार साझेदारमा अर्जेन्टिनालाई नजिक बनाइदिएको छ । विभागका अनुसार अन्तर्राष्ट्रिय व्यापारमा अर्जेन्टिना नेपालको तेस्रो ठुलो व्यापारिक साझेदार बनेको छ । छिमेकी मुलुक भारत र चीनपछि नेपालले सबैभन्दा धेरै अर्जेन्टिनाबाट ७५ अर्ब रुपियाँ बराबरको वस्तु आयात गरेको छ जसमा अधिकतम हिस्सा कच्चा भटमासको रहेको छ ।

नेपालका पुराना व्यापारिक साझेदार संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्सभन्दा पनि बढी व्यापार अर्जेन्टिनासँग भएको देखिन्छ । अर्जेन्टिनाबाट अर्बौं आयात भए पनि नेपालले त्यहाँ केवल २८ लाख ५३ हजार रुपियाँको मात्र निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

नेपालमा प्रशोधित भटमास तेल भारतमा मात्रै निर्यात भएको देखिन्छ । विभागका अनुसार नेपालले फागुनसम्म ३६ करोड ६५ लाख किलोग्राम बराबरको ७५ अर्ब ७७ करोड रुपियाँको भटमास तेल भारत निर्यात गरेको छ ।

नेपालले साफ्टा सुविधा अन्तर्गत प्राप्त शून्य भन्सारको सुविधा उपयोग गर्दै भारतमा प्रशोधित भटमास तेल निर्यात गर्दै आइरहेको छ । भारतले साफ्टाबाहेकका मुलुकबाट तेल आयात गर्दा ३६ प्रतिशतसम्म भन्सार महसुल लगाएका कारण व्यापारीले अर्जेन्टिनाबाट कच्चा तेल ल्याउने र त्यसलाई नेपालमा प्रशोधन गरेर भारत निर्यात गर्दै आइरहेका छन् ।

भारतमा भटमास तेलको अत्यधिक माग भएका कारण नेपालमा प्रशोधन गरेर भारत निर्यात गर्दा त्यसको लागत पनि कम गर्ने भएका कारण वीरगन्ज, विराटनगर तथा भैरहवा जस्ता सीमाक्षेत्रमा प्रशोधन प्लान्ट स्थापना गरेर निर्यात गर्ने काममा व्यापारी सक्रिय छन् ।

नेपालले अत्यधिक निर्यात गरेको भटमासको तेलपछि दोस्रो स्थानमा रहेको अलैँचीको निर्यात भने मूल्यको हिसाबले तुलनात्मक रूपमा कम रहेको छ । विभागका अनुसार नेपालले फागुनसम्म नौ अर्ब ४९ करोड रुपियाँको अलैँची निर्यात गरेको छ । निर्यातका हिसाबले पहिलो स्थानमा रहेको भटमास तेल र दोस्रो स्थानमा रहेको अलैँचीको निर्यातको अन्तर भने अत्यधिक फराकिलो छ ।

अलैंची नेपालमै उत्पादन हुने कृषि वस्तु हो । अलैँचीपछि नेपालमै उत्पादन हुने गलैँचाको निर्यात सबैभन्दा धेरै अर्थात् छ अर्ब ५३ करोड रुपियाँ रहेको विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार फागुनसम्म नेपालको कुल निर्यात गत आवको सोही महिनाको तुलनामा २०.८३ प्रतिशतले बढेर एक खर्ब ९१ अर्ब रुपियाँ पुगेको छ । गत फागुनसम्म नेपालले एक खर्ब ५८ अर्ब रुपियाँको वस्तु निर्यात गरेको थियो । निर्यात जस्तै आयात पनि उल्लेख्य बढेको विभागको तथ्याङ्कले देखाउँछ । तथ्याङ्क अनुसार चालु वर्षको फागुनसम्म नेपालले १२ खर्ब ८९ अर्ब रुपियाँको वस्तु आयात गरेको जुन गत आवको फागुनसम्मको तुलनामा १२.५४ प्रतिशतले बढी हो । निर्यात बढे पनि आयातको परिणाम अत्यधिक बढी हुँदा मुलुकको व्यापार घाटा पनि ११.२२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपियाँ पुगेको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x