१६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाए मलेसियामा कम्पनीहरूलाई १ करोड रिंगिटसम्म जरिवाना

क्वालालम्पुर।  मलेसिया सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कानुनी रूपमै कडाइ गरेको छ । सोमबारदेखि लागू भएको नयाँ नियमअनुसार अब उक्त उमेर समूहका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता (एकाउन्ट) खोल्न र सञ्चालन गर्न पाउने छैनन् ।

नयाँ कानुनी व्यवस्थाले फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता ठूला सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्ने दायित्व सुम्पेको छ । १६ वर्षमुनिका बालबालिकालाई नयाँ खाता खोल्न नदिने र सञ्चालनमा रहेका त्यस्ता खाताहरू पहिचान गरी बन्द गराउने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुने व्यवस्था कानुनमा गरिएको छ ।

यो नियम उल्लंघन गर्ने वा पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई १ करोड मलेसियन रिंगिटसम्म जरिवाना गरिने कानुनी प्रावधान छ ।

डिजिटल माध्यमबाट बालबालिकामाथि हुने साइबर दुर्व्यवहार, मानसिक तनाव, हानिकारक सामग्रीको पहुँच र सामाजिक सञ्जालको अत्यधिक लत जस्ता जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको मलेसिया सरकारले जनाएको छ ।

नयाँ नियममा बालबालिकाले झुटा विवरण राखेर वा अन्य उपाय अपनाई नियम छलेको खण्डमा अभिभावकलाई भने कानुनी कारबाही नहुने प्रस्ट पारिएको छ । सरकारले यस व्यवस्थाको मुख्य केन्द्रविन्दु सामाजिक सञ्जाल कम्पनीहरूलाई उत्तरदायी बनाउनु रहेको उल्लेख गरेको छ ।

मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगका अनुसार यो नीतिको उद्देश्य बालबालिकालाई इन्टरनेटबाट वञ्चित गर्नु नभई उनीहरूका लागि सुरक्षित र उमेरअनुकूल डिजिटल वातावरण निर्माण गर्नु हो ।

बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियम लागू गर्ने मलेसिया विश्वका सीमित देशहरूको सूचीमा परेको छ । यसअघि अष्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले यस्तै प्रकारका प्रतिबन्धहरू कार्यान्वयनमा ल्याइसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, थाइल्यान्ड र दक्षिण कोरिया लगायतका मुलुकहरू पनि यससम्बन्धी नीति निर्माणको चरणमा छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x