इरान–अमेरिका सैन्य तनाव उत्कर्षमा: दुवै पक्षद्वारा हवाई र ड्रोन आक्रमण, कुवेतद्वारा क्षेप्यास्त्र असफल पारिएको दाबी

दुबई / वासिङ्टन।  इरान र संयुक्त राज्य अमेरिकाबीचको सैन्य तनाव पुनः तीव्र बनेको छ । पछिल्ला केही दिनयता दुवै देशले एकअर्काका रणनीतिक एवं सैन्य ठेगानाहरूलाई निशाना बनाई शृङ्खलाबद्ध आक्रमण गरेका छन् ।

अमेरिकी सेनाले इरानी भूमिमा रहेका राडार र ड्रोन नियन्त्रण केन्द्रहरूमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ । यता इरानले पनि अमेरिकी मानवरहित विमान (ड्रोन) खसालेको र जवाफी सैन्य कारबाही गरेको स्वीकार गरेको छ । यसैबीच, खाडी मुलुक कुवेतले आफ्नो वायुसेनाले मुलुकतर्फ लक्षित ड्रोन र क्षेप्यास्त्र आक्रमणलाई आकाशमै रोक्न सफल भएको जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अन्तर्राष्ट्रिय जलक्षेत्रमा उडिरहेको अमेरिकी ‘एमक्यू–१ प्रिडेटर’ ड्रोनलाई इरानले खसालेपछि त्यसको प्रतिक्रियास्वरूप यो सैन्य कदम चालिएको हो । शनिबार र आइतबार इरानको गेरुक सहर र केशम टापु आसपासका क्षेत्रहरूलाई लक्षित गरी अमेरिकी लडाकू विमानहरूले ‘मापन गरिएको र योजनाबद्ध’ आक्रमण गरेका थिए ।

सेन्ट्रल कमान्डद्वारा जारी वक्तव्यमा भनिएको छ: “अन्तर्राष्ट्रिय जलक्षेत्रमा सञ्चालन भइरहेको अमेरिकी एमक्यू–१ ड्रोनमाथि भएको आक्रमणलगायतका इरानी आक्रामक कार्यहरूको प्रतिक्रियामा यी आक्रमणहरू गरिएको हो । अमेरिकी लडाकू विमानहरूले इरानका हवाई रक्षा प्रणाली, एउटा ग्राउन्ड कन्ट्रोल स्टेशन तथा दुईवटा एकतर्फी आक्रमण ड्रोनहरू नष्ट गरेका छन्, जसले क्षेत्रीय जलमार्गमा चलिरहेका जहाजहरूका लागि खतरा उत्पन्न गरिरहेको थियो ।”

अमेरिकी सेनाले यस कारबाहीमा आफ्नातर्फ कुनै मानवीय क्षति नभएको प्रस्ट पारेको छ । सेवाबाट हटाइसकिएको भनिएको प्रिडेटर ड्रोनलाई अमेरिकी सेनाले अझै पनि सीमित रूपमा प्रयोग गर्दै आएको यस घटनाले देखाएको छ ।

इरानी रिभोलुसनरी गार्डले सरकारी सञ्चार माध्यम आइआरएनए (IRNA) मार्फत वक्तव्य जारी गर्दै अमेरिकी सेनाले एक टापुमा रहेको दूरसञ्चार टावरलाई निशाना बनाएको आरोप लगाएको छ । यद्यपि, इरानले उक्त स्थानको यकिन विवरण भने सार्वजनिक गरेको छैन । इरानले अमेरिकी ड्रोन खसाल्नुलाई आफ्नो हवाई सुरक्षा प्रणालीको ठूलो सफलताका रूपमा व्याख्या गरेको छ ।

यसै क्रममा, कुवेतले सोमबार बिहान आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न खोजेका अज्ञात ड्रोन र क्षेप्यास्त्रहरूलाई निष्कृय पारेको दाबी गरेको छ । घटनालगत्तै कुवेती अधिकारीहरूले देशभर सुरक्षा सतर्कता उच्च पारेका छन् ।

यो हालैको तनाव इरान युद्धपछिको एक हप्ते कमजोर युद्धविरामको पृष्ठभूमिमा भएको हो । बारम्बारका आक्रमण र प्रतिआक्रमणले युद्धविराम प्रयासलाई ओझेलमा पारेको छ ।

अर्कोतर्फ, इरानले विश्वव्यापी ऊर्जा आपूर्तिको लाइफलाइन मानिने हर्मुज जलघाँटीमा आफ्नो कडा निगरानी र नियन्त्रण कायम राखेको छ । पर्सियन खाडीको यो साँघुरो जलमार्गबाट विश्वको कुल खपतको झण्डै २० प्रतिशत तेल र प्राकृतिक ग्यास ढुवानी हुने भएकाले यस क्षेत्रको सैन्य तनावले अन्तर्राष्ट्रिय बजारलाई तरंगित बनाएको छ ।

यसका साथै, इजरायल र लेबनानको हिजबुल्लाह समूहबीचको द्वन्द्व पनि थप गहिरिएको छ । इजरायली सेनाले लेबनानको लिटानी नदीभन्दा अघिसम्म सैन्य परिचालन बढाएको छ भने इरान समर्थित हिजबुल्लाहले इजरायली क्षेत्रमा निरन्तर ड्रोन प्रहार गरिरहेको छ, जसले समग्र मध्यपूर्वलाई नै थप अस्थिरतातर्फ धकेलेको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x