अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) बीचको सम्बन्ध पछिल्लो समय थप जटिल र संशयपूर्ण बनेको छ। फ्लोरिडामा नाटो महासचिव मार्क रुटसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले गठबन्धनको सान्दर्भिकता र सदस्य राष्ट्रहरूको भूमिकाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै भविष्यमा अमेरिका यस सात दशक पुरानो सुरक्षा सङ्गठनबाट अलग हुन सक्ने सङ्केत दिनुभएको छ। विशेषगरी, इरानसँगको सैन्य तनावका क्रममा नाटोले पर्याप्त सहयोग नगरेको दाबी गर्दै उहाँले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत कठिन समयमा गठबन्धनको साथ नपाएको र भविष्यमा पनि यसमाथि पूर्ण भरोसा गर्न नसकिने उल्लेख गर्नुभएको छ। यसका साथै राष्ट्रपतिले ग्रिनल्यान्डको विषयलाई पुनः उठाउँदै त्यस क्षेत्रप्रति आफ्नो चासो दोहो¥याउनुभएको छ, जसले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ कूटनीतिक तरङ्ग पैदा गरेको छ।
अमेरिकी प्रशासनले नाटो सदस्य राष्ट्रहरूले रक्षा क्षेत्रमा गर्ने खर्च र उनीहरूको सैन्य क्षमतामाथि गम्भीर प्रश्न उठाउँदै आएको छ। ‘वाल स्ट्रिट जर्नल’ का अनुसार राष्ट्रपति ट्रम्पले केही सदस्य राष्ट्रहरूलाई ‘असहयोगी’ को संज्ञा दिँदै ती देशहरूबाट अमेरिकी सेना फिर्ता गर्नेसम्मको रणनीतिक योजनामा छलफल अगाडि बढाउनुभएको छ। यसैक्रममा उहाँले बेलायती नेतृत्व र त्यहाँको सैन्य प्रभावकारिताको कडा आलोचना गर्दै गठबन्धनभित्रको परम्परागत मित्रवत् सम्बन्धमा ठूलो कूटनीतिक दबाब सिर्जना गर्नुभएको छ। युक्रेन–रूस युद्ध र इरानसँगको हालैको अस्थिर युद्धविरामको पृष्ठभूमिमा ट्रम्पको यस्तो कडा र अपत्यारिलो रणनीतिले विश्वव्यापी सुरक्षा ढाँचामा अस्थिरता आउन सक्ने चिन्ता सदस्य राष्ट्रहरूमा व्याप्त देखिएको छ।
तनावपूर्ण वातावरणका बीच नाटो महासचिव मार्क रुटले अमेरिकी राष्ट्रपतिसँगको संवादलाई खुला र स्पष्ट भन्दै आपसी असमझदारी हटाउने कूटनीतिक प्रयास जारी राख्नुभएको छ। रुटले अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रक्षा अधिकारीहरूसँग इरान, युक्रेन र रक्षा उत्तरदायित्व बाँडफाँटका विषयमा विस्तृत छलफल गरिसक्नुभएको छ। ह्वाइट हाउसका अनुसार यी संवादहरू अझै प्रक्रियामै रहेका छन् र अमेरिकी प्रशासनले चाडै नै यस सम्बन्धमा ठोस आधिकारिक निर्णय सार्वजनिक गर्ने सम्भावना छ। राष्ट्रपति ट्रम्पको “अमेरिका प्रथम” नीति र सदस्य राष्ट्रहरूले रक्षा खर्चमा आफ्नो योगदान बढाउनुपर्ने अडानले नाटोको भविष्य र समग्र विश्व सुरक्षा सन्तुलनलाई एउटा चुनौतीपूर्ण मोडमा उभ्याएको छ।







