गृहमन्त्री सुधनको कार्यशैलीप्रति रास्वपा सांसदले उठाउन थाले प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले गृहमन्त्री सुधन गुरुङको शैलीप्रति प्रश्न उठाउन सुरु गरेका छन् । गृहमन्त्री सुधन अनुगमनको कार्यमा जिल्ला जाँदा सम्बन्धित क्षेत्रका सांसदलाई खबर नगरिएको भन्दै पार्टीभित्र प्रश्न गर्न थालेका हुन ।

काभ्रे–१ का सांसद मधु चौलागाईंले प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलमा र संसदीय दलको बैठक गृहमन्त्री गुरुङको शैलीको आलोचना गरेका हुन् । बागमतीबाट संघीय संसदमा निर्वाचित सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार छलफल गरेका थिए ।

काभ्रे–१ का सांसद चौलागाई र धादिङ–१ बाट निर्वाचित आशिका तामाङले गृहमन्त्री गुरुङको शैलीको प्रधानमन्त्री शाहसँग आलोचना गरेका हुन् ।गृहमन्त्री गुरुङ काभ्रे–१ मा जाँदा त्यही क्षेत्रको सांसद आफूलाई जानकारी नगराएको प्रति संसदीय दल र प्रधानमन्त्रीसँग कुरा राखेको सांसद चौलागाईंले जानकारी दिए ।

उनले भने, ‘हाम्रो संसदीय दलको बैठकमा पनि यो विषय उठाएको थिएँ । हाम्रो क्षेत्रमा जाँदा त्यहाँ के समस्या छन् । हामीलाई थाहा हुन्छ नि,’ सांसद चौलागाईंले भने,‘१० जना मान्छे जम्मा गरेर आउनुभन्दा कम्तिमा हामीलाई लिएर गएको भए जनताको समस्या यस्तो यस्तो छ भन्थ्यौं नि ।’ गृहमन्त्री गुरुङ गत मंगलबार काभ्रेस्थित रोशी खोलाको स्थलगत निरीक्षणमा गएका थिए ।

रोशीखोलामा आउने वर्षाले प्रभावित हुने स्थानीयको अवस्था बुझ्न उनी निरीक्षणमा गएका थिए । निरीक्षण गर्न पुगेका गृहमन्त्री गुरुङले सञ्चालनमा रहेका क्रसर उद्योगहरुमा पनि पुगेका थिए । अवैध क्रसर उद्योग बन्द गर्न उनले निर्देशन दिएका थिए । क्रसर उद्योगले गिट्टी बालुवा उत्खनन् गर्दा पहिरो गएको हुँदा अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका थिए ।

विगतमा राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको आरोप लगाउँदै अब नदिने गृहमन्त्री गुरुङले बताएका थिए । काभ्रेमा विपद व्यवस्थापनका लागि गर्नुपर्ने कदमका बारेमा गृहमन्त्रीलाई आफूले जानकारी गराउन नपाएको प्रति सांसद चौलागाईंले असन्तुष्टि व्यक्त गरे । ‘विपद व्यवस्थापन गृहले हेर्ने हो ।

गृहमन्त्री जाँदा खेरि त्यहाँको विपद व्यवस्थापनसँग सम्बन्धित विषय त मैले भन्थे होला नि । म त निर्वाचनको बेलामा सबै क्षेत्र घुम्या छु । निर्वाचन क्षेत्रको प्रतिनिधिको हैसियतले क्षेत्र भित्रका मान्छेले समस्या परेपछि फोन गरेर त मलाई भन्ने हुन् ।’ गृहमन्त्री निरीक्षणका लागि जुन क्षेत्रमा गएपनि सम्बन्धित स्थानको जनप्रतिनिधिलाई खबर गर्न सुरक्षाको कारण पनि अपरिहार्य रहेको चौलागाईं बताउँछन् ।

कदाचित्, त्यस क्षेत्रमा गृहमन्त्री गुरुङ माथि केही भएको भए त्यसको जवाफ आफूले दिनुपर्ने बताउँदै सांसद चौलागाईंले भारतको उदाहरण दिए । भारतमा राजीव गान्धीलाई सुरक्षा हुँदाहुँदै पनि हत्या भएको प्रसंग उठाउँदै चौलागाईले भने,‘ सुरक्षा निकायले सुरक्षा दिँदा दिँदै पनि राजीव गान्धी हत्याकाण्ड भयो । जवाफ चाहिँ मुख्यमन्त्रीले दिनुपर्यो । त्यहाँ केही भएको भए भोलि जवाफ त मैले दिनु पर्ने हुन्छ नि ।’

प्रधानमन्त्रीसँग धादिङ–१ की सांसद आशिका तामाङले गृहमन्त्री त्यस क्षेत्रमा जाँदा आफूसँग समन्वय नगरेको गुनासो गरेकी थिइन् । गृहमन्त्रीको व्यवहारमा उठाइएको प्रश्नमा प्रधानमन्त्री शाहले खासै प्रतिक्रिया नदिएको सांसद चौलागाईंले बताए । प्रधानमन्त्रीको बोलीप्रति चौलागाईंले भने,‘मैले सबैको कुरा सुनें ।

तपाईंको कुरा सुन्नु पर्ने थियो मलाई भन्नुभयो उठेर जानुभयो ।’ संसदीय दलको बैठकमा राखेको उक्त विषयलाई गृहमन्त्री गुरुङलाई अर्को बैठकमा उनलाई जानकारी गराउने कुरा भएको चौलागाईंले जानकारी दिए ।

गृहमन्त्री गुरुङ निर्माणधीन विकास पूर्वाधारको स्थलगत निरीक्षणमा निस्केर निर्माणकर्ता कम्पनीलाई छिटो काम सक्न निर्देशन दिँदै हिँडेका छन् । चितवनका विभिन्न क्षेत्रको अवलोकन पछि सोमबार स्तरोन्नति भइरहेको नारायणढ– बुटबल सडक खण्डको निरीक्षणमा पुगेका थिए । चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिलाई सडक निर्माणको कार्य छिटो सक्न निर्देशन दिएका थिए ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x