ह्वाइट हाउस बाहिर सुरक्षाकर्मीको गोलीबाट एक बन्दुकधारीको मृत्यु, ट्रम्प सुरक्षित वासिङ्टन डीसी

वासिङ्टन डीसी।  ह्वाइट हाउस नजिकै शनिबार साँझ भएको गोलीकाण्डमा एक सशस्त्र संदिग्धको मृत्यु भएको छ। अमेरिकी गोप्य सेवा (युएस सेक्रेट सर्भिस) का एजेन्टहरूको जवाफी कारबाहीमा ती व्यक्ति मारिएका हुन्। घटनाका क्रममा त्यहाँ उपस्थित एक सर्वसाधारण नागरिक समेत गोली लागेर घाइते भएका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार घटनाको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस भित्रै रहे पनि उनी पूर्ण रूपमा सुरक्षित छन्। युएस सेक्रेट सर्भिसका सञ्चार प्रमुख एन्थोनी गुग्लिल्मीले स्थानीय समय अनुसार साँझ ६ बजेपछि ह्वाइट हाउसको सुरक्षा घेरा बाहिर यो घटना भएको पुष्टि गरे। उनका अनुसार एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर अन्धाधुन्ध गोली चलाउन थालेपछि सुरक्षाकर्मीहरूले तत्काल जवाफी कारबाही गरेका थिए।

सुरक्षा बलको गोली लागेर गम्भीर घाइते भएका संदिग्धलाई तत्काल अस्पताल लगिएकोमा चिकित्सकहरूले उनलाई मृत घोषित गरे। गोली हानाहानका क्रममा घाइते भएका अर्का एक दर्शकको स्वास्थ्य अवस्थाबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

अमेरिकी सञ्चारमाध्यमहरूले मारिएका व्यक्तिको पहिचान मेरिल्यान्डका २१ वर्षीय नासिरे बेस्टको रूपमा गरेका छन्। प्रारम्भिक रिपोर्टहरूका अनुसार बेस्टको मानसिक स्वास्थ्यमा समस्या रहेको इतिहास थियो र यसअघि पनि उनलाई सेक्रेट सर्भिसका अधिकारीहरूले निगरानी वा सोधपुछ गरेका थिए।

गोलीकाण्ड लगत्तै सुरक्षा निकायहरूले ह्वाइट हाउस वरपरको क्षेत्रलाई सिल गरी नियन्त्रणमा लिएका थिए। सुरक्षा सतर्कता बढाउँदै नेसनल गार्डका सैनिकहरूलाई वासिङ्टनको डाउनटाउन क्षेत्रमा परिचालन गरी आवतजावतमा कडाइ गरिएको छ। यस घटनामा कुनै पनि सुरक्षा अधिकारी घाइते नभएको सेक्रेट सर्भिसले जनाएको छ।

घटनाका प्रत्यक्षदर्शी क्यानेडियन पर्यटक रिड एड्रियनले सुरुमा आतशबाजीको आवाज जस्तो सुनिए पनि तत्कालै त्यो गोली चलेको आवाज भएको थाहा पाएपछि मानिसहरू ज्यान जोगाउन भागाभाग गरेको बताए।

त्यस्तै, घटनाको समयमा ह्वाइट हाउसको नर्थ लन क्षेत्रमा रहेका पत्रकारहरूलाई सुरक्षाकर्मीले तत्काल प्रेस ब्रिफिङ कक्ष भित्र सुरक्षित रहन निर्देशन दिएका थिए। एबिसी न्युजकी संवाददाता सेलिना वाङले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै आफूले भिडियो रेकर्ड गरिरहेकै बेला “दर्जनौँ गोली चलेजस्तो महसुस भएको” र उक्त आवाज भिडियोमा समेत कैद भएको उल्लेख गरेकी छन्।

राष्ट्रपति ट्रम्पलाई लक्षित गरी भएका सुरक्षा थ्रेटहरूको शृङ्खलामा यो पछिल्लो घटना हो। ७९ वर्षीय ट्रम्पमाथि यसअघि पनि तीन पटक हत्याको प्रयास भइसकेको दाबी गरिएको छ।

यसअघि गत अप्रिल २५ मा ट्रम्प मिडिया गाला कार्यक्रमको सुरक्षा चौकीमा एक सशस्त्र व्यक्तिले आक्रमण गरेका थिए, तर उनी भित्र प्रवेश गर्न पाएनन्। त्यसैगरी, जुलाई २०२४ मा पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्‍यालीमा ट्रम्पमाथि प्रत्यक्ष गोली प्रहार हुँदा उनको कानमा चोट लागेको थियो भने एक दर्शकको मृत्यु भएको थाहा भएको थियो। त्यसको केही महिनापछि फ्लोरिडाको वेस्ट पाम बिचस्थित गल्फ कोर्समा ट्रम्प खेलिरहेकै बेला अर्का एक सशस्त्र व्यक्ति पक्राउ परेका थिए।

शनिबारको घटनापछि अमेरिकी हाउस रिपब्लिकनहरूले ट्रम्प सुरक्षित रहेकोमा सन्तोष व्यक्त गर्दै राजनीतिक हिंसाको निन्दा गरेका छन्। उनीहरूले सेक्रेट सर्भिसको द्रुत र प्रभावकारी कदमको प्रशंसा समेत गरेका छन्।

ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि ह्वाइट हाउस परिसरमा करिब ४० करोड डलरको लागतमा नयाँ बलरुम परियोजना अघि बढाएका छन्। सुरक्षा सुदृढीकरणका लागि भन्दै निर्माण सुरु गरिएको उक्त संरचनामा भूमिगत सैन्य अस्पताल र ड्रोन–प्रतिरोधी प्रणालीहरू समावेश गरिने बताइएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x