काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत हिजो राति सम्पन्न खेलहरूबाट बायर्न म्युनिख र आर्सनल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन्। जर्मनीको एलायन्ज एरिनामा भएको एक अविस्मरणीय खेलमा बायर्न म्युनिखले स्पेनिस महारथी रियल मड्रिडलाई ४–३ ले पराजित गर्दै समग्रमा ६–४ को नतिजासहित सेमिफाइनलको यात्रा सुनिश्चित गर्यो। खेलको निर्धारित समय सकिन केही मिनेट मात्र बाँकी रहँदा लुइस डियाज र माइकल ओलिसेले गोल गरेपछि बायर्नले रोमाञ्चक जित दर्ता गरेको हो। रियल मड्रिडका लागि अर्दा गुलेरले दुई र किलियन एम्बाप्पेले एक गोल गरे पनि टोलीको हार टार्न त्यो पर्याप्त हुन सकेन।
त्यस्तै, लण्डनस्थित एमिरेट्स स्टेडियममा भएको अर्को प्रतिस्पर्धामा आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनसँग गोलरहित बराबरी खेल्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्यो। पहिलो लेगमा हात पारेको १–० को साँघुरो अग्रतालाई जोगाउँदै आर्सनलले समग्रमा १–० को जितका साथ लगातार दोस्रो सिजन प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो। अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (PSG) को सामना गर्नेछ भने आर्सनलले एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ।








