मस्को/किएभ। दोस्रो विश्वयुद्ध अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसर पारेर रुस र युक्रेन दुवै पक्षले युद्धमैदानमा अस्थायी युद्धविरामको घोषणा गरेका छन्। रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति भ्लादिमिर पुटिनले मे ८ र ९ तारिखका लागि दुई दिने युद्धविरामको आदेश दिएका हुन्। सोभियत सङ्घको ऐतिहासिक विजयको सम्मानमा गरिएको भनिएको यस निर्णयलाई युक्रेनी पक्षले पनि पछ्याउने अपेक्षा मस्कोले राखेको छ। यद्यपि, रुसले चेतावनी दिँदै यदि किएभ प्रशासनले विजयोत्सवका कार्यक्रममा बाधा पुर्याउने कुनै पनि ‘आपराधिक कार्य’ गरेमा किएभको मुख्य केन्द्रमै कडा प्रतिरोधात्मक आक्रमण गर्ने उल्लेख गरेको छ। रुसमा मे ९ लाई लाखौँको बलिदानको सम्झनामा ‘विजय दिवस’ का रूपमा मनाउने गरिन्छ।
यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि मे ५ र ६ को मध्यरातदेखि लागु हुने गरी छुट्टै युद्धविरामको घोषणा गरेका छन्। जेलेन्स्कीले सो अवधिमा पूर्ण ‘मौनता’ र शान्ति सुरक्षा कायम रहने सुनिश्चितता व्यक्त गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्। दुवै देशले विजयोत्सवको फरक-फरक सन्दर्भमा युद्धविराम गरे पनि रुसको धम्कीपूर्ण चेतावनीले गर्दा युद्धग्रस्त क्षेत्रमा तनाव भने यथावत देखिएको छ। सन् २०२४ को आम निर्वाचनपछि रुसी प्रभाव विस्तार भइरहेको दाबीका बीच आएको यो घोषणालाई रणनीतिक र सांकेतिक दुवै रूपमा हेरिएको छ।








