इरानलाई सैन्य हतियार आपूर्ति गरेको भन्ने विश्वव्यापी आरोपलाई चीनले ‘आधारहीन र दुर्भावनापूर्ण’ भन्दै पूर्ण रूपमा अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई सैन्य सहयोग गरेमा चिनियाँ आयातमा ५० प्रतिशतसम्मको नयाँ कर लगाउने चेतावनी दिएको र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चीनले इरानलाई उन्नत हवाई रक्षा प्रणाली र काँधमा बोक्ने मिसाइलहरू पठाउन लागेको दाबी गरेपछि बेइजिङको यो प्रतिक्रिया आएको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले आफ्नो देशले सैन्य सामग्रीको निर्यातमा सधैँ कडा नियन्त्रण र जिम्मेवारीपूर्ण नीति अपनाउँदै आएको दाबी गर्दै ती आरोपहरूलाई कूटनीतिक धब्बाको संज्ञा दिनुभएको छ।
चीन र इरानबीच मजबुत आर्थिक सम्बन्ध रहेको र चीन इरानी तेलको प्रमुख खरिदकर्ता भए तापनि यी दुई देशबीच कुनै औपचारिक सैन्य गठबन्धन नभएको विश्लेषकहरूको बुझाइ छ। बेइजिङले एकातिर तेहरानसँग ऊर्जा व्यापारलाई निरन्तरता दिएको छ भने अर्कोतिर खाडी क्षेत्रका अन्य मुलुकहरूसँग पनि सुदृढ सम्बन्ध कायम राख्दै क्षेत्रीय तनावमा सन्तुलित कूटनीति अपनाउन खोजेको देखिन्छ। यसै सन्दर्भमा चीनले आफ्नो निर्यात नियन्त्रण कानून र अन्तर्राष्ट्रिय दायित्वको पूर्ण पालना गरिरहेको बताउँदै आफूलाई एक जिम्मेवार विश्वशक्तिको रूपमा प्रस्तुत गरेको छ।








