१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधित्व हुने सांसदहरूको नाम टुंगो लगाएको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले ५७ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता मनिष झाका अनुसार सिफारिस गरिएको नामावली आजै निर्वाचन आयोगमा पेस गरिने छ। सिफारिस गरिएका नामहरूमा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
जसअनुसार खसआर्य समुदायबाट १७, जनजातिबाट १६, मधेसी समुदायबाट ९, दलित समुदायबाट ८, थारु समुदायबाट ४ र मुस्लिम समुदायबाट ३ जना रहेका छन्। पार्टीले यी सबै ‘क्लस्टर’ मा आधारित भएर समावेशी प्रतिनिधित्व गराएको प्रवक्ता झाले जानकारी दिए।








