वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको पछिल्लो शान्ति प्रस्तावलाई अस्वीकार गर्ने संकेत दिएका छन्। इरानी प्रस्तावमा आणविक निशस्त्रीकरणको विषय समावेश नगरिएको भन्दै ह्वाइट हाउसले असन्तुष्टि जनाएको अमेरिकी सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन्।
सोमबार ह्वाइट हाउसमा आयोजित एक उच्चस्तरीय बैठकमा ट्रम्पले आफ्ना सल्लाहकारहरूसँग यसबारे छलफल गरेका थिए। इरानको प्रस्तावमा मुख्यगरी होर्मुज जलडमरू (Strait of Hormuz) खुला गर्ने र इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी सैन्य नाकाबन्दी हटाउने विषयलाई प्राथमिकता दिइएको छ। तर, ट्रम्प प्रशासनले सुरुदेखि नै उठाउँदै आएको ‘आणविक हतियारमा प्रतिबन्ध’को विषय यसमा समेटिएको छैन।
सीएनएनका अनुसार बैठकमा सहभागी अधिकारीहरूले ट्रम्पले यो प्रस्तावलाई अहिलेकै अवस्थामा स्वीकार गर्ने सम्भावना नरहेको बताएका छन्। त्यस्तै, द न्युयोर्क टाइम्सले ह्वाइट हाउस अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, “इरानी प्रस्ताव जस्ताको तस्तै स्वीकार गर्दा ट्रम्पको मुख्य एजेन्डा—इरानलाई आणविक हतियारबाट टाढा राख्ने विषय—ओझेलमा पर्न सक्छ।”
यसै विषयमा फक्स न्युजसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको नयाँ प्रस्तावका केही पक्ष सकारात्मक भए पनि तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने कुरामा अमेरिका दृढ रहेको बताए। “प्रस्ताव समग्रमा राम्रै देखिए पनि इरानको आणविक महत्वाकांक्षालाई रोक्नु नै हाम्रो मुख्य प्राथमिकता हो,” रुबियोले भने।
यसअघि राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ताका लागि आफू हतारमा नरहेको स्पष्ट पारेका थिए। उनले इरानसँगको युद्ध अन्त्य गर्न कुनै किसिमको दबाब महसुस नगरेको र उचित समयमा मात्र सम्झौता हुने अडान राख्दै आएका छन्।अहिलेको परिस्थितिमा इरानले आफ्नो प्रस्तावमा परिमार्जन नगरेसम्म वा आणविक मुद्दामा स्पष्ट प्रतिबद्धता नजनाएसम्म वासिङ्टन र तेहरानबीचको गतिरोध कायमै रहने देखिएको छ।







