काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले ‘बले’ भनेर चिनिने सागर लम्साल पक्राउ प्रकरणबारे सामाजिक सञ्जालमा भ्रामक सूचना तथा अप्रमाणित समाचार प्रसारण नगर्न आग्रह गरेको छ।
परिसरले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त विषयमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाउँदै विभिन्न व्यक्तिको नाममा सञ्चालित सामाजिक सञ्जाल अकाउन्टहरूबाट भ्रम फैलाउने खालका अभिव्यक्ति, धारणा तथा सूचना प्रसारण भएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
प्रहरीका अनुसार लम्साल विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
अनुसन्धानकै क्रममा रहेको विषयमा अप्रमाणित र भ्रामक सूचना फैलिन नदिन तथा जिम्मेवार ढङ्गले सत्य तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न सर्वसाधारण, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अनुरोध गरिएको छ।








