बेइजिङको ग्रेट हल अफ द पिपुलमा बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शिखर वार्ता भयो दुवै पक्षले मैत्रीपूर्ण सन्देश दिन खोजे, तर कूटनीतिक दरारहरू लुकाउन सकेनन्।
तियानानमेन स्क्वायरमा भव्य स्वागत समारोह, क्यानन सलामी, सैनिक परेड, दुई देशका राष्ट्रिय गान को बीचमा ट्रम्पले सीको खुलेर स्तुति गरे। “तपाईं एक महान नेता हुनुहुन्छ। तपाईंसँग हुनु सम्मानको कुरा हो,” उनले भने।
सीको जवाफ भने फरक स्वरमा आयो। ट्रम्पको प्रशंसाको जवाफमा सीले सीधै भूराजनीतिक खतराको कुरा उठाए उदाउँदो र स्थापित शक्तिबीचको प्रतिस्पर्धा युद्धमा परिणत हुने जोखिमलाई जनाउने ‘थुसिडाइड्स ट्र्याप’ अवधारणाको सहारा लिँदै।
“सहकार्यले दुवैलाई फाइदा पुर्याउँछ, द्वन्द्वले दुवैलाई हानि,” सीले भने।
यो उनको नयाँ भनाइ होइन। सन् २०१४ यता सीले पूर्वराष्ट्रपति जो बाइडेनसँगका वार्तामा समेत यही अवधारणा दोहोर्याउँदै आएका छन्। तर ट्रम्पले भ्रमणलाई उत्सवमय बनाउने कोसिस गरिरहेको बेला सीले फेरि यही चेतावनी दिनु — कूटनीतिक विश्लेषकहरूका नजरमा — संयोग मात्र होइन।
भव्य समारोहपछिको वास्तविक एजेन्डा भने जटिल छ। ह्वाइट हाउसले ट्रम्प ठोस उपलब्धि लिएरै फर्कने अपेक्षा राखेको छ। अमेरिकी सोयाबिन, गोमांस र विमान खरिदमा चिनियाँ प्रतिबद्धता र व्यापार विवाद समाधानका लागि संयुक्त व्यापार बोर्ड गठन — यी नै मुख्य माग हुन्।
त्यसमाथि थपिएको छ इरान प्रश्न। इरान–इजरायल युद्ध र अमेरिकाको प्रत्यक्ष संलग्नताले हर्मुज जलघाँटी प्रभावकारी रूपमा अवरुद्ध बनाएको छ, जसले विश्व ऊर्जा बजारमा झट्का दिएको छ।
विदेशमन्त्री मार्को रुबियोले फक्स न्युजसँगको अन्तर्वार्तामा चीनमाथि दबाब दिने अमेरिकी रणनीति स्पष्ट पारे — “यो सङ्कटले विश्व अर्थतन्त्र कमजोर बनाइरहेको छ। उपभोक्ताहरूले कम चिनियाँ वस्तु किनिरहेका छन् ,त्यसैले यो समस्या समाधान हुनु चीनकै हितमा छ।”
ह्वाइट हाउसबाट बेइजिङ प्रस्थान गर्नुअघि ट्रम्पको एउटा भनाइले आफ्नै प्रशासनभित्र असहजता निम्त्यायो।
“म अमेरिकीहरूको आर्थिक अवस्थाबारे सोचिरहेको छैन। म एउटै कुरामा केन्द्रित छु इरानलाई आणविक हतियार बनाउन दिन सकिँदैन,” उनले भने।केही घण्टापछि उपराष्ट्रपति जेडी भान्सले यो भनाइको सार्वजनिक रूपमा ‘सच्याउन’ खोजे राष्ट्रपतिको आशय गलत बुझिएको दाबी गर्दै।
एउटै यात्राको सुरुमै देखिएको यो आन्तरिक असन्तुलन अमेरिकी कूटनीतिको कमजोर पक्षका रूपमा बेइजिङको नजरबाट छुटेको छैन।भ्रमण टोलीमा प्रविधि, रक्षा, कृषि र वित्त क्षेत्रका उच्च अधिकारी र व्यवसायीहरू सहभागी छन् ,यसले यो भ्रमण केवल कूटनीतिक औपचारिकता नभई ठोस आर्थिक सौदाबाजीको मञ्च हो भन्ने देखाउँछ।
गत वर्षको व्यापार युद्धविरामलाई विस्तार गर्ने विषयमा दुई पक्षबीच अझै वार्ता जारी छ, तर यो भ्रमणमा कुनै ठोस घोषणा हुने वा नहुने अनिश्चित नै छ।








