इस्लामावाद / ग्वादर । संयुक्त राज्य अमेरिकाले नियन्त्रणमा लिएको इरानी जहाज ‘तौस्का’ का १५ जना चालक दलका सदस्यलाई पाकिस्तानले इरानी अधिकारीहरूलाई बुझाएको छ। बलुचिस्तान प्रान्तको ग्वादरस्थित गब्द–रिमदान सीमा नाकाबाट उनीहरूको हस्तान्तरण गरिएको ग्वादरका उपायुक्त नकीबुल्लाह काकरले पुष्टि गरेका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पाकिस्तानको मध्यस्थतामा दुवै पक्षबीच भएको समन्वय र छलफलपछि ती सदस्यहरूलाई औपचारिक रूपमा इरान पठाइएको हो।
गत महिना अमेरिकाले कब्जामा लिएको सो कन्टेनर जहाजमा कुल २२ जना इरानी नागरिक सवार थिए। तीमध्ये १५ जनालाई पाकिस्तान हुँदै स्वदेश फर्काइएको हो भने बाँकी ७ जनालाई अर्को चरणमा फिर्ता गरिने सुरक्षा स्रोतले जनाएको छ। यसअघि पाकिस्तानको विदेश मन्त्रालयले अमेरिकाको ‘विश्वास निर्माण गर्ने उपाय’ (Confidence Building Measure) अन्तर्गत ती नागरिकहरूको स्थानान्तरण प्रक्रियामा सहजीकरण गरेको उल्लेख गरेको थियो। सोही योजनाअनुरूप उनीहरूलाई रातारात पाकिस्तान ल्याएर इरानी पक्षको जिम्मा लगाइएको हो। अमेरिकी नियन्त्रणमा रहेका आफ्ना नागरिक फिर्ता पाउने प्रक्रियामा पाकिस्तानको भूमिकालाई महत्वपूर्ण मानिएको छ।








