जेनेभा। अन्तर्राष्ट्रिय मानवीय चिकित्सा सहायता संस्था ‘मेडेसिन्स सान्स फ्रन्टियर्स’ (एमएसएफ) ले इजरायलले गाजामा खानालगायतका अत्यावश्यक वस्तुमा प्रतिबन्ध लगाएर जानाजान कुपोषणको संकट निम्त्याएको आरोप लगाएको छ। सन् २०२४ को अन्त्यदेखि २०२६ को सुरुवातसम्म गाजाका चारवटा स्वास्थ्य केन्द्रको अवस्था विश्लेषण गरी सार्वजनिक गरिएको प्रतिवेदनअनुसार, इजरायली नाकाबन्दी र पूर्वाधारमाथिको आक्रमणले शिशु, गर्भवती तथा स्तनपान गराउने महिलाहरूमा विनाशकारी प्रभाव पारेको छ। प्रतिवेदनले कुपोषित आमाहरूबाट जन्मेका शिशुहरूमा उच्च मृत्युदर र गर्भपातको जोखिम बढेको देखाएको छ। एमएसएफले गत वर्ष संयुक्त राष्ट्रसङ्घको सहायता वितरणमा अवरोध पुर्याउने अमेरिका र इजरायल समर्थित निजी सङ्गठनहरूको भूमिकाका कारण भएको क्षतिलाई पनि आफ्नो प्रतिवेदनमा समेटेको छ।
संस्थाले खान युनूस र गाजा सहरका अस्पतालहरूमा उपचाररत २०० भन्दा बढी आमा र नवजात शिशुहरूको तथ्याङ्क अध्ययन गर्दा भयावह अवस्था फेला पारेको छ। विश्लेषणअनुसार, आधाभन्दा बढी महिला गर्भावस्थाको समयमा कुपोषणबाट प्रभावित थिए भने तीमध्ये एक चौथाइ अझै पनि कुपोषित छन्। कुपोषित आमाहरूबाट जन्मेका शिशुहरूमध्ये ९० प्रतिशत समय नपुगी जन्मेका र ८४ प्रतिशतको जन्म तौल कम रहेको पाइएको छ। यस्ता शिशुहरूमा मृत्युदर सामान्य अवस्थाका शिशुहरूको तुलनामा दुई गुणा बढी देखिएको छ। एमएसएफले अक्टोबर २०२४ देखि डिसेम्बर २०२५ सम्मको अवधिमा ५१३ जना छ महिना मुनिका शिशुहरूको स्वास्थ्य अवस्थालाई समेत आधार मानेर यो विश्लेषण तयार पारेको हो।
दुई वर्षको द्वन्द्वपछि गत अक्टोबरदेखि युद्धविराम भए तापनि सहायता र आपूर्तिको अभावमा स्थिति अझै नाजुक रहेको एमएसएफले चेतावनी दिएको छ। संस्थाले एक विज्ञप्ति जारी गर्दै इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सहायता र चिकित्सा सामग्रीको निर्बाध प्रवेश तुरुन्तै सुनिश्चित गर्न आह्वान गरेको छ। असुरक्षा, विस्थापन र चिकित्सा सेवामा लगाइएको सीमितताले मातृ तथा शिशु स्वास्थ्यमा अपूरणीय क्षति पुर्याएको उल्लेख गर्दै एमएसएफले मानवीय संकट टार्न तत्काल अन्तर्राष्ट्रिय पहलको आवश्यकता औंल्याएको छ।







