काठमाडौं । हाल देशभरको मौसममा परिवर्तन देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभावसँगै उपल्लो वायुमण्डलमा उच्च चापीय तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
यसको प्रभावले हाल पहाडी तथा हिमाली भू–भागमा बदली रहँदा तराई तथा उपत्यकाका केही भागमा तुवाँलो लागेको छ। विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा बदली रहनेछ । आज दिउँसो र रातिको कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा बदली रहने छ भने बाँकी भागमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।
मेघगर्जन, चट्याङ, हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले महाशाखाले यी क्षेत्रमा रहने आम नागरिक तथा हिमाली भेगमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । चट्याङको समयमा सुरक्षित स्थानमा रहन, पानी र हिउँले सडक फिसलो हुनसक्ने भएकाले सवारी साधन तथा पैदल यात्रामा विशेष सावधानी अपनाउन भनिएको छ ।








