म्याग्दी, १० चैत — नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन अन्तर्गत टावर निर्माण भएको जग्गाका धनीहरूलाई तीन करोडभन्दा बढी मुआब्जा वितरण गरिएको छ। साथै, तारमुनि पर्ने जग्गाधनीहरूलाई पनि क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठित उपसमितिले निर्धारण गरेको मूल्यअनुसार टावर निर्माणस्थलका जग्गाधनीहरूलाई हालसम्म रु ३ करोड २९ लाख ६४ हजार ५६७ मुआब्जा वितरण भएको हो। आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सिनाका अनुसार यसमध्ये रु २ करोड २९ लाख २९ हजार ७२८ आधारभूत मुआब्जा हो भने ऋण लगानीकर्ता एसियाली विकास बैंक (एडिबी) को कार्यविधिअनुसार गरिब, महिला प्रमुख घरपरिवार, दलित, जनजाति र अशक्तलाई रु १ करोड ३४ हजार ८३९ थप रकम वितरण गरिएको छ।
२५ किलोमिटर लामो यो प्रसारण लाइनका कूल ८२ टावरमध्ये ४० वन क्षेत्रमा र ४२ व्यक्तिगत जग्गामा रहेका छन्। हालसम्म ६६ जनाले मुआब्जा प्राप्त गरिसकेका छन् भने सात जनाको प्रक्रियामा रहेको अधिकृत तिमिल्सिनाले बताए। २०७९ मा उपसमितिले टावर रहने जग्गाका धनीहरूलाई प्रतिरोपनी रु ९ लाखदेखि १३ लाख ५० हजारसम्म मुआब्जा निर्धारण गरेको थियो।
प्रसारण लाइनको तारमुनि पर्ने भोगाधिकार क्षेत्रका जग्गाधनीलाई समेत क्षतिपूर्ति दिन दररेट निर्धारणको काम भइरहेको आयोजनाले जनाएको छ। लाइनको बीच भागदेखि दायाँ र बायाँ नौ–नौ मिटरभित्र रहेका निजी जग्गाका धनीले क्षतिपूर्ति पाउने व्यवस्था छ। प्रारम्भिक विवरणअनुसार ४५४ कित्ता जग्गा र २२ घरटहरा यो क्षेत्रभित्र पर्ने पहिचान गरिएको छ। थप भौतिक संरचनाको पहिचान जारी छ।
यसैगरी, सबस्टेशन निर्माणका लागि मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा ५१ रोपनी र रघुगङ्गा गाउँपालिका–३ राहुघाट अम्बाङमा ९० रोपनी जग्गा अधिग्रहण गरिएको थियो। वन क्षेत्र प्रयोगबापत रु ४ करोड ५० लाखमा ५०४ रोपनी जग्गा खरिद गरी सरकारलाई उपलब्ध गराइसकिएको छ।
आयोजनाले प्रभावित क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १५ जनालाई सवारी चालक, १५ जनालाई हाउसवायरिङ र १९ सामुदायिक वनका दुई–दुई जनालाई गैरकाष्ठ वनपैदावार तालिम प्रदान गरेको छ। सामुदायिक वन उपभोक्ताको मागअनुसार वन डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री वितरण गरिएको छ। यसैगरी, १८ सामुदायिक विद्यालय तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी गरिएको छ। प्रभावित क्षेत्रका मठमन्दिर, आमा समूह र विद्यालयलाई निर्माणजन्य सामग्री वितरण गरिएको छ।
म्याग्दी र राहुघाट बेसिनका जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोड्न महत्वपूर्ण मानिएको यो आयोजनाको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको छ। कूल ८२ टावरमध्ये ७१ वटा खडा भइसकेका छन् भने १०.५ किलोमिटरमा तार तान्ने काम सम्पन्न भएको छ। डाँडाखेत सबस्टेशनको ९५ प्रतिशत, प्रसारण लाइनको ७० प्रतिशत र राहुघाट सबस्टेशनको ६५ प्रतिशत काम सकिएको छ।
सन् २०२१ मा लार्सन एन्ड टुयुब्रो (एलएनटी) सँग रु ३ अर्ब ५७ करोडमा ठेक्का भएको यो आयोजना वन क्षेत्रमा रुख कटान आदेश प्राप्त नहुनु, राहुघाट सबस्टेशनको कमजोर भूगोल, विपद् जोखिम र केही टावरस्थलमा भएको समुदायको विवादले लम्बिएको हो। तेस्रो पटक म्याद थप गर्दै आयोजनाको समयसीमा २०२६ मे १६ सम्म पुर्याइएको छ। आयोजना प्रमुख रोशन अग्रवालका अनुसार अबको पाँच महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदारले काम तीव्रता दिएको छ।
कूल रु ४ अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजनामा रु १ अर्ब ५ करोड विद्युत् प्राधिकरणको र रु ३ अर्ब ८२ करोड एडिबीको ऋण लगानी रहेको छ। एडिबीसँगको ऋण सम्झौता २७ मिलियन डलरबाट बढाएर ३१ मिलियन डलर पुर्याइएको छ।
यो प्रसारण लाइन म्याग्दी नदी क्षेत्रमा निर्माण भइरहेका जलविद्युत् आयोजनाका लागि जीवनरेखा साबित हुनेछ। हाल चिमखोला–राहुघाट–मङ्गले (३५.५ मेगावाट), अपर राहुघाट (४८ मेगावाट), ठूलोखोला (२१.३ मेगावाट) र माथिल्लो ठूलोखोला (२३.५ मेगावाट) ले उत्पादन थालिसकेका छन् भने ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ।








