इरान–इजरायल तनावको बीचमा ट्रम्पको स्पष्टोक्ति: ‘अमेरिकाले गर्ने सम्झौता इजरायलले स्वीकार्नुपर्छ’

वासिङ्टन/तेल अभिभ। मध्यपूर्वमा इरान र इजरायलबीचको सैन्य तनाव फेरि चुलिएकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नीतिमा वासिङ्टन नै निर्णायक रहने स्पष्ट सन्देश दिएका छन् । इरानले अप्रिलको युद्धविराम भङ्ग गर्दै इजरायलमाथि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही घण्टामै ट्रम्पको यस्तो राजनीतिक प्रतिक्रिया बाहिर आएको हो ।

फाइनान्सियल टाइम्ससँगको टेलिफोन अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानसँग गर्ने कुनै पनि सम्भावित सम्झौता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले स्वीकार गर्नुपर्ने दाबी गरे । नेतान्याहुसँग ‘अमेरिकाले गरेको सम्झौता मान्नुबाहेक अर्को विकल्प नरहेको’ उल्लेख गर्दै ट्रम्पले इजरायलको रणनीतिक निर्णय प्रक्रियामा अमेरिकाकै भूमिका अन्तिम र निर्णायक हुने सङ्केत गरे ।

इरानले सोमबार इजरायलतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय सुरक्षामा नयाँ तरङ्ग पैदा भएको छ । अप्रिलको युद्धविरामपछि इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेको यो पहिलो घटना हो, जसलाई युद्धविराम उल्लङ्घनको सबैभन्दा गम्भीर कडी मानिएको छ ।

तनावका बीच पनि ट्रम्पले इरानसँगको कूटनीतिक संवादको ढोका खुला रहने स्पष्ट पारेका छन् । पछिल्लो आक्रमणले अमेरिका–इरान वार्ताको सम्भावित प्रगतिलाई असर नगर्ने उनको भनाइ छ ।

इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरू पहिचान गरी आफ्ना प्रतिरक्षा प्रणालीहरू सक्रिय बनाएको इजरायली रक्षा बल (आइडीएफ) र वायु सेना (आइएएफ) ले जनाएका छन् । आक्रमणका क्रममा देशका विभिन्न भागमा साइरन बजाइएको थियो भने नागरिकहरूलाई मोबाइल सन्देशमार्फत तत्काल सुरक्षित स्थानमा जान र अर्को सूचना नआएसम्म त्यहीँ रहन निर्देशन दिइएको थियो ।

हालसम्म यो आक्रमणबाट कुनै मानवीय वा ठूलो भौतिक क्षतिको विवरण नआए पनि केही स्थानमा क्षेप्यास्त्रका अवशेष खस्दा सामान्य क्षति भएको आशङ्का गरिएको छ ।

यो घटनाअघि आइतबार मात्रै इजरायलले लेबनानको राजधानी बेरुतस्थित दहियाह क्षेत्रमा रहेको हिज्बुल्लाहको मुख्यालयलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । हिज्बुल्लाहले आफ्नो क्षेत्रबाट इजरायलतर्फ गोली प्रहार गरेपछि इजरायलले सो जवाफी कारबाही गरेको बताएको छ ।

यसैबीच, अमेरिकी सञ्चारमाध्यम एक्सियोसले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै ट्रम्प र नेतान्याहुबीच आइतबार नै टेलिफोन वार्ता भएको खुलासा गरेको छ । उक्त वार्तामा ट्रम्पले इरानको सम्भावित आक्रमणको बदलामा तत्कालै कुनै जवाफी सैन्य कारबाही अघि नबढाउन नेतान्याहुलाई आग्रह गरेको समाचारमा जनाइएको छ ।

इरानको प्रत्यक्ष क्षेप्यास्त्र प्रहार र त्यसपछि आएको अमेरिकी राष्ट्रपतिको कडा अभिव्यक्तिले मध्यपूर्वको सुरक्षा समीकरणलाई थप जटिल मोडमा पुर्‍याएको छ । अमेरिका एकातिर इरानसँग कूटनीतिक सम्झौता अघि बढाउने रणनीतिमा देखिन्छ भने अर्कोतिर आफ्नो प्रमुख क्षेत्रीय साझेदार इजरायलसँगको सैन्य तथा रणनीतिक सन्तुलन कायम राख्ने दबाबमा छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x