इरानले कूटनीतिलाई राष्ट्रिय हित रक्षाको प्रमुख औजारका रूपमा व्याख्या गर्दै आफ्नो सुरक्षा र रणनीतिक लाभ सुनिश्चित हुने अवस्थामा मात्र वार्ता प्रक्रियामा सहभागी हुने स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार तेहरानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मध्यस्थताका लागि पाकिस्तानले गरेको प्रयासको प्रशंसा गरे पनि हालैका सैन्य गतिविधिहरू अमेरिका र इजरायली आक्रमणको प्रतिवादमा गरिएको आत्मरक्षाको कार्य भएको दाबी गरे।
इरानले हालको युद्धक्षेत्र र राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै बघाईले इरानी व्यापारिक जहाजहरूमाथि भएका आक्रमण र जफतका घटनाहरूले वार्तामा संलग्न देशको जिम्मेवार चरित्र नझल्काउने टिप्पणी गरे। ४० दिने युद्धविराम लागू भएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई थप गर्ने संकेत दिएको पृष्ठभूमिमा, इस्लामावादमा हुने दोस्रो चरणको वार्तामा सहभागिता जनाउने विषय पूर्णतः राष्ट्रिय स्वार्थमा निर्भर रहने उनले बताए। यद्यपि, इरानको तस्निम न्यूज एजेन्सीले भने तेहरानले बुधबार हुने वार्तामा भाग लिने निर्णय गरिसकेको दाबी गरेको छ। इरानले आफ्नो वैधानिक अधिकारको रक्षा गर्ने, आक्रमणका लागि कानुनी जवाफदेही बनाउने र युद्धमा भएको क्षतिको क्षतिपूर्ति माग गर्ने अडानलाई कायमै राखेको छ।








