रोहिंग्या सङ्कट: ९० प्रतिशतले बढ्यो घातक समुद्री यात्रा, सयौँ बेपत्ता

कोक्स बजार (बङ्गलादेश) । बङ्गलादेश र म्यानमारबाट समुद्री मार्ग हुँदै भाग्ने रोहिंग्या शरणार्थीहरूको सङ्ख्या गत वर्षको तुलनामा ९० प्रतिशतले बढेको छ। संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘सेभ द चिल्ड्रेन’ ले बिहीबार यस्तो जानकारी दिएको हो।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (यूएनएचसीआर) को तथ्याङ्क अनुसार सन् २०२६ को मार्च ३१ सम्म म्यानमार र बङ्गलादेशबाट २,९०७ जनाले समुद्री यात्रा सुरु गरेका छन्। सन् २०२५ को सोही अवधिमा यो सङ्ख्या १,५१७ मात्र थियो। तथ्याङ्क अनुसार सन् २०२५ मा अन्डमान सागर र बङ्गालको खाडीमा करिब ९०० रोहिंग्या शरणार्थीले ज्यान गुमाएका वा बेपत्ता भएका थिए। यसै महिना मात्र इन्डोनेसियातर्फ जाँदै गरेको डुङ्गा पल्टिँदा थप २५० जना बेपत्ता भएका छन्।

 बङ्गलादेशस्थित युनाइटेड काउन्सिल रोहिंग्या (यूसीआर) का सदस्य खिन माउङले यस परिस्थितिलाई भयावह बताएका छन्। उनले भने, “यात्राको जोखिमबारे सचेतना कार्यक्रम चलाइए पनि मानिसहरू निराश देखिन्छन्। यो उनीहरूको रहर नभई विवशता हो। स्वदेश फिर्तीको सम्भावना नदेखिनु र शिक्षाको अभावले बालबालिकाहरू ज्यान जोखिममा पार्न बाध्य छन्।”

बङ्गलादेशको कोक्स बजारस्थित शिविरमा सन् २०१७ को सैन्य दमनपछि भागेका १० लाखभन्दा बढी रोहिंग्या शरणार्थी बस्दै आएका छन्। सेभ द चिल्ड्रेनका अधिकारी गुलाम मुस्तफाले एक विज्ञप्ति जारी गर्दै शिविरभित्र बढ्दो असुरक्षा र मानवीय सहायताको अभावले परिवारहरूलाई पलायन हुन दबाब दिइरहेको उल्लेख गरे।

 नगद अभाव देखाउँदै संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले हालै शरणार्थीहरूलाई उपलब्ध गराउँदै आएको सहायतामा कटौती गरेको छ। सेभ द चिल्ड्रेनका अनुसार राशन कटौतीबाट मात्रै ५ लाख बालबालिका प्रभावित भएका छन्। खाद्य असुरक्षा र भविष्यप्रतिको अन्योलले रोहिंग्याहरूलाई जीर्ण डुङ्गामा कोचिएर खतरनाक समुद्री यात्रा गर्न बाध्य पारेको विज्ञहरूले विश्लेषण गरेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x