काठमाडौ । नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा ऐतिहासिक कूटनीतिक उपलब्धि हासिल गरेको छ । नेपालद्वारा प्रस्तुत ’अन्तर्राष्ट्रिय आरोग्य दिवस’ सम्बन्धी प्रस्ताव महासभाबाट पारित भएको छ, जसले विश्व स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय थपेको छ ।
राष्ट्रसङ्घको महासभाले आज (२७ फागुन) नेपालको प्रस्तावलाई औपचारिक रूपमा पारित गर्दै हरेक वर्ष अप्रिल १५ का दिन विश्वभर ’अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाउने निर्णय गरेको हो । यो नेपालको कूटनीतिक क्षेत्रमा मात्र नभई विश्व स्वास्थ्य नीतिमा समेत महत्वपूर्ण योगदानका रूपमा हेरिएको छ ।
राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्यको अवधारणालाई व्यापक र समग्र रूपमा परिभाषित गरेको छ । प्रस्तावमा भनिएको छः “स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय रूपमा समग्र कल्याणको अवस्था हो ।“
यो परिभाषाले स्वास्थ्यलाई संकुचित चिकित्सकीय दृष्टिकोणबाट मुक्त गर्दै मानव जीवनका हरेक पक्षसँग जोडेर हेर्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ ।








