भानु नगरपालिका–१ नयाँबस्तीमा बिहान सखारैदेखि राति अबेरसम्म यही धुन निस्किरहन्छ। काठमा छिनो ठोक्किँदा उठ्ने आवाज हो यो। दिपक गन्धर्व निरन्तर काठ कुँदिरहन्छन् । बिस्तारै एउटा सुन्दर आकृति निकाल्छन्, अनि बल्ल बन्छ सारंगी । यही सारंगीले यहाँका मानिसका दुःख, अभाव र संघर्षका धुन निकाल्छ ।
हिउँदको उत्तरार्ध छ । बिहान १०–११ बजेसम्म कुहिरोले बस्ती छोड्दैन । तर कुहिरोभित्रको बस्तीको कल्याङमल्याङ बिहान ६ नबज्दै सुरु भइसकेको हुन्छ। झिल्के गन्धर्व सबेरै सारंगीको तार मिलाउँछन्, झोलामा राख्छन् र बाटोतिर लाग्छन् – गीत सुनाउन, कथा सुनाउन र छोराले बनाएको सारंगीका ग्राहक खोज्न । यसपटक पनि हामी बस्ती पुग्दा उनी सारंगी रेट्न निस्किसकेका थिए । देश फेरि चुनावमा छ । फागुन २१ गते हुने चुनावमा तनहुँ क्षेत्र नम्बर १ मा पर्ने नयाँ बस्तीका नागरिक पनि भोट हाल्न जाँदैछन् । त्यसैले यहाँ पनि छलफलको विषयबस्तु आउँदैगरेको चुनाव, अघिल्पटक नेताहरूले गरेको बाचा छ, यसपटक भोट माग्न आउँदा के भन्लान् भन्ने उत्सुकता छ ।
उम्मेदवारका नाम, पार्टीका झण्डा र भाषणहरूबारे आ-आफ्नै तर्क छ । मन परेका नेताहरूको समर्थन र मन नपरेका नेताको आलोचना अन्तजस्तै यहाँ पनि छ । नयाँबस्तीका गन्धर्वहरूका लागि चुनाव कुनै नयाँ अनुभव होइन, उनीहरूले यो दृश्य पटक–पटक देखेका छन् । यो अरू क्षेत्रका नागरिकको जस्तै समान दृष्य हो । यहाँका मान्छेहरूमा फरक एउटा पक्ष पनि छ- उनीहरूले राज्य र आफ्ना नेताहरूसँग गुनासो गर्न छोडिसके । तर सबै पुगिसरी आएर होइन, यी यस्तै त हुन नि भन्ने अनुभूति भएर हो ।
sdf