करिब डेढ महिनाअगाडि, अर्थात २६ डिसेम्बर २०२५ मा चर्चित गायिका ज्योति मगरलाई फोन आयो । फोनमा उनलाई एउटा गीत गाउन प्रस्ताव गरिएको थियो । तर के भयो भने, त्यो गीत एआईद्वारा तयार गरिएको थियो । अब उनलाई तयार भइसकेको त्यस गीतमा आफ्नो आवाज दिनुपर्ने थियो ।
ज्योति मगरका अनुसार, फोनमा भनिएको थियो, गीत भाइरल हुने खालको छ र एआईले बनाएको हो । ज्योतिले तुरुन्तै जवाफ दिइन्, –‘म सरस्वतीको भक्त हुँ । एआईले चोरी गरेका पुराना सर्जकका मेलोडी म गाउन सक्दिनँ ।’ फोन काटियो ।
चर्चित संगीतकार तथा गायक विशाल निरौलालाई अमेरिकाबाट एकजना क्लाइन्टको फोन आयो । फोनमा भनियो – ‘एउटा गीत बनाएको छु । ठ्याक्कै त्यस्तै बनाइदिनुपर्छ । शब्दमा मात्र थोरै परिवर्तन गर्नुपर्नेछ । म्युजिकका लागि आवश्यक बाजा थप्ने र त्यस्तै खालको आवाजमा गीत गाउने जिम्मेवारी तपाईंको हो ।’
ज्योति मगर, विशाल निरौला जस्ता कलाकार, संगीतकार र रेकर्डिङ स्टुडियो सञ्चालकलाई आजकाल यस्तै किसिमका प्रस्ताव लगातार आउने गरेका छन् । यसले देखाउँछ कि, नेपालको गीत संगीतमा अब गायक–गायिका र संगीतकर्मीहरूले अनावश्यक झण्झट र प्रविधि दुरुपयोगको चुनौती सामना गर्न थालेका छन् ।
कुनै समय नेपाली संगीत भनेको साधनाको फल थियो । एक गीत तयार हुनुअघि त्यसका पछाडि महिनौंको अभ्यास, असफलता, आर्थिक अभाव, सामाजिक दबाब र भावनात्मक संघर्ष लुकेका हुन्थे । शब्दहरू जीवनका भोगाइसँगै फुर्थे । धुनहरू अनुभूतिको गर्भबाट जन्मन्थे । गाउँको उकालीओराली लय बन्थ्यो । र, त्यो लयमा स्वर भरेपछि कलाकारको आत्मा बोकेर श्रोतासम्म पुग्थ्यो ।
तर, प्रविधिको छलाङसँगै यो यात्रामा एउटा नयाँ पात्रको प्रवेश गरेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) ले अन्य क्षेत्रलाई जसरी प्रभावित बनाउँदैछ, त्यसैगरी संगीत उद्योगमा पनि प्रभाव जमाउन सुरु गरेको छ ।
आफूले भन्न खोजेको केही शब्द, कस्तो बाजा प्रयोग गर्ने, कुन शैलीको गीत चाहियो—यी सबै कुरा मोबाइलमा टाइप गरेर पठाएको दुई मिनेटमै पूरा हुन्छ । यो सुविधा हो कि खतरा ? यही प्रश्नले अहिले नेपाली संगीत उद्योगलाई सबैभन्दा कठिन मोडमा पुर्याएको छ ।