कङ्गोमा इबोला नियन्त्रणका लागि डब्लुएचओद्वारा ५१ करोड डलरको योजना सार्वजनिक

किन्सासा, कङ्गो लोकतान्त्रिक गणतन्त्र।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा फैलिएको इबोला प्रकोप नियन्त्रण र क्षेत्रीय तयारी क्षमता सुदृढ गर्न ५१ करोड ८० लाख अमेरिकी डलरको व्यापक योजना सार्वजनिक गरेको छ। यो योजना सन् २०२६ जुनदेखि नोभेम्बरसम्म कार्यान्वयन हुने गरी तयार पारिएको हो।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार इबोला नियन्त्रण केवल चिकित्सा प्रतिक्रिया मात्र नभएर राजनीतिक प्रतिबद्धता, दीगो वित्तपोषण र समुदायको सक्रिय सहभागितामा निर्भर रहन्छ। अफ्रिका सीडीसी र डब्लुएचओले अन्य साझेदार संस्थाहरूसँगको सहकार्यमा तयार पारेको यो रणनीति महामारी रोकथाम, शीघ्र पहिचान तथा उपचार क्षमता विस्तारमा केन्द्रित छ।

सामाजिक सञ्जाल ‘एक्स’ मा एक सन्देश जारी गर्दै महानिर्देशक टेड्रोसले स्थानीय समुदायसँग विश्वास निर्माण, अग्रपङ्क्तिका स्वास्थ्यकर्मीको परिचालन र सङ्क्रमण रोकथामका उपायहरू सुदृढ पार्नुपर्ने आवश्यकता औँल्याए। सङ्क्रमित व्यक्तिलाई समयमै उपचारको दायरामा ल्याउन सके मृत्युदर उल्लेख्य रूपमा घटाउन सकिने उनको भनाइ छ।

यसैबीच, टेड्रोस र डीआरसीका राष्ट्रपति फेलिक्स त्सेसेकेडीबीच हालै बुन्डिबुग्यो क्षेत्रमा देखिएको इबोला प्रकोप र त्यसको रोकथामबारे विस्तृत छलफल भएको छ। उक्त वार्तामा उपचार सेवाको विस्तार, निदान क्षमता वृद्धि र स्वास्थ्य पूर्वाधारको सुधारबारे भएका प्रगतिको समीक्षा गरिएको थियो। प्रारम्भिक चरणमा उपचार पाएका केही बिरामी निको भएर घर फर्किसकेकाले समयमै गरिने उपचार प्रभावकारी हुने सङ्केत मिलेको डब्लुएचओले जनाएको छ।

महामारी नियन्त्रणका प्रयाससँगै अन्य अत्यावश्यक स्वास्थ्य तथा मानवीय सेवाहरूलाई पनि निरन्तरता दिनुपर्नेमा डब्लुएचओले जोड दिएको छ। डब्लुएचओ प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई समन्वित रूपमा सहयोग गर्न आग्रह गर्दै यात्रा वा व्यापारमा लगाइने अनावश्यक प्रतिबन्धले राहत तथा उपचार आपूर्तिमा बाधा पुर्‍याउन सक्ने चेतावनी दिए।

इबोला एक गम्भीर प्रकारको भाइरल रक्तस्रावी ज्वरो हो, जुन अहिले विशेषगरी ‘बुन्डिबुग्यो स्ट्रेन’ का रूपमा फैलिएको छ। उच्च मृत्युदरका कारण जोखिमपूर्ण मानिने यस स्ट्रेनविरुद्ध हालसम्म पूर्ण रूपमा स्वीकृत खोप वा विशेष उपचार पद्धति उपलब्ध छैन।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x