टोकियो । मध्यपूर्वमा जारी क्षेत्रीय द्वन्द्व र तनावका कारण जापानी सवारीसाधन निर्माता कम्पनी टोयोटाको निर्यातमा ठूलो गिरावट आएको छ। जापानबाट मध्यपूर्वतर्फ हुने टोयोटाको निर्यात अप्रिल महिनामा ९१.७ प्रतिशतले घटेको कम्पनीले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। व्यापारिक मार्गमा परेको असरका कारण समीक्षा अवधिमा निर्यात केवल २ हजार ४१८ युनिटमा सीमित भएको छ।
टोयोटाका अनुसार अप्रिल महिनामा उसको विश्वव्यापी बिक्री ३.१ प्रतिशतले घटेर ८ लाख ४९ हजार ३०६ सवारीसाधनमा झरेको छ। योसँगै कम्पनीको अन्तर्राष्ट्रिय बिक्री लगातार तेस्रो महिना पनि घटेको हो। मुख्य गरी विदेशी बजारहरूमा माग कमजोर हुँदा समग्र बिक्री प्रभावित भएको हो, जहाँ टोयोटाको वैदेशिक बिक्री ७.५ प्रतिशतले घटेर ६ लाख ९९ हजार ३८२ युनिटमा ओर्लिएको छ।
प्रमुख बजार मानिने अमेरिकामा टोयोटाको बिक्री ४.६ प्रतिशतले घटेर २ लाख २२ हजार ३७८ युनिट कायम भएको छ भने मध्यपूर्वी देशहरूमा समग्र बिक्री ३३.७ प्रतिशतले घटेर ३१ हजार ३६० युनिटमा खुम्चिएको छ।
वैदेशिक बजारमा गिरावट आए पनि टोयोटाले जापानको घरेलु बजार र उत्पादन क्षेत्रमा भने उल्लेख्य सुधार दर्ता गरेको छ। अप्रिलमा कम्पनीको विश्वव्यापी उत्पादन २ प्रतिशतले बढेर ८ लाख ३१ हजार ९७१ युनिट पुगेको छ, जुन अप्रिल महिनाका लागि अहिलेसम्मकै उच्च रेकर्ड हो। कम्पनीको विदेशी उत्पादन ३.८ प्रतिशतले बढेर ५ लाख ६७ हजार ५७८ युनिट पुगेको छ भने जापानभित्रको उत्पादन भने १.७ प्रतिशतले घटेर २ लाख ६४ हजार ३९३ युनिटमा झरेको छ।
त्यस्तै, जापानभित्रको घरेलु बिक्रीमा २४.२ प्रतिशतको ठूलो वृद्धि देखिएको छ। अप्रिलमा जापानमा १ लाख ४९ हजार ९२४ युनिट टोयोटा गाडी बिक्री भएका छन्। मार्च महिनाको अन्त्यमा वातावरणीय प्रदर्शन कर हटाइने सरकारी घोषणाका कारण उपभोक्ताहरूले केही समय खरिद प्रक्रिया स्थगित गरेका थिए। उक्त कर हटेसँगै ग्राहकहरू पुनः बजारमा फर्किएकाले घरेलु बिक्रीमा उच्च उछाल आएको विश्लेषण गरिएको छ।







