११ कात्तिक, काठमाडौँ । शिक्षक सेवा आयोगले बढुवासम्बन्धी उजुरीको पुनरावलोकन गरी योग्यताक्रमको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ । कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाका लागि योग्यताक्रम सूचीमा परेका करिब छ हजार शिक्षकको उजुरीमाथि पुनरावलोकन प्रक्रिया अघि बढाइएको हो ।
आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट भएका निर्णयका आधारमा ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनतर्फको बढुवा योग्यताक्रम सूची प्रकाशन भइरहेको छ ।
‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ संशोधनसहितको परिच्छेद १५ मा भएको व्यवस्थाअनुसार प्राप्त कागजात र प्रमाण अध्ययन गरी सम्बन्धित जिल्ला तथा तहका शिक्षकको बढुवा नतिजा कायम गर्ने प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।
विभिन्न प्रदेशका शिक्षा हेर्ने मन्त्रालयअन्तर्गतका शिक्षा विकास निर्देशनालयबाट गरिएको कार्यसम्पादन मूल्याङ्कनविरुद्ध परेका उजुरीमाथि अध्ययन तथा छानबिन गरेर आयोगले पुनरावलोकनको नतिजा प्रकाशन गर्दै आएको छ । तर, आयोगका पदाधिकारी रिक्त भएपछि पछिल्लो छ महिनादेखि यो प्रक्रिया रोकिएको थियो ।
आयोगले कात्तिकमा माध्यमिक द्वितीय तहअन्तर्गत इलाम, सुनसरी, झापा र सोलुखुम्बुको पुनरावलोकन नतिजा प्रकाशन गरेको छ । यसअघि असोज २९ गते प्राथमिक द्वितीय तहअन्तर्गत लमजुङ, बागलुङ, गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र कास्कीको नतिजा सार्वजनिक गरिएको थियो ।
नेपाल सरकारले गत भदौ २५ गते आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्सालसहित पदाधिकारी नियुक्त गरेको थियो । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ गत वैशाख १८ गते जारी भएपछि आयोगका पदाधिकारी पदमुक्त भएका थिए ।
नयाँ पदाधिकारी नियुक्त भएसँगै रोकिएको पुनरावलोकन प्रक्रिया अघि बढेको हो । आयोगले बाँकी उजुरीको अध्ययन तथा नतिजा प्रकाशनलाई निरन्तरता दिइरहेको जनाएको छ ।