वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसमाथि लगाइने भनिएको व्यापक प्रतिबन्ध र महसुल (ट्यारिफ) माथि राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको छुट ६० दिनको ‘अस्थायी विश्राम’ मात्र भएको स्पष्ट पारेका छन्। रुबियोका अनुसार यस अवधिमा उक्त प्रतिबन्धहरूले विश्व अर्थतन्त्रका साथै अमेरिकी अर्थतन्त्रमा पार्ने असरबारे सूक्ष्म विश्लेषण गरिनेछ।
अमेरिकी संसद (काङ्ग्रेस) ले गत महिना पारित गरेको कानुन अनुसार रुसी अधिकारी , उद्योगपति , वित्तीय संस्था तथा रुसी तेल र ग्यास खरिद गर्ने मुलुकहरूमाथि कडा प्रतिबन्ध लागू हुने तयारीमा थियो। तर , उक्त कानुन लागू हुनुभन्दा दुई दिन अघि शुक्रबार राष्ट्रपति ट्रम्पले कार्यकारी आदेश जारी गर्दै रुसलाई ती आर्थिक प्रतिबन्धहरूबाट छुट दिएका हुन्।
इरानसँगको युद्ध र यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियामा गराएको आक्रमणका कारण विश्वभर डिजेल तथा इन्धनको मूल्य अत्यधिक बढेको छ। अमेरिकी बजारमा बढेको महँगीले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा सत्तारूढ रिपब्लिकन पार्टीलाई ठुलो घाटा पुर्याउने अनुमान गरिएका बेला ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग रुसी डिजेल आयात गर्नेसम्बन्धी सम्झौता गरेका थिए। सोही सम्झौताको बदलामा ट्रम्पले रुसमाथिको प्रतिबन्धमा छुट दिएको बताइएको छ।
विदेशमन्त्री रुबियोले अमेरिकी यातायात , कृषि र निर्माण क्षेत्रका लागि डिजेल अत्यावश्यक इन्धन रहेको उल्लेख गर्दै पुटिनले बेच्न खोजेको डिजेल जुनसुकै हालतमा विश्व बजारमा आउने र अमेरिकाले त्यसबाट कति लाभ लिन सक्छ भन्ने कुरा मुख्य रहेको बताएका छन्।
ट्रम्पको यस कदमको अमेरिकी संसदमा दुवै पक्ष (रिपब्लिकन र डेमोक्र्याट) का नेताहरूले कडा शब्दमा आलोचना गरेका छन्। रिपब्लिकन सेनेटर थोम टिलिसले यस निर्णयलाई ‘अत्यन्तै गैरजिम्मेवार’ भन्दै ट्रम्पले इन्धनको मूल्य घटाउन पुटिनलाई सहयोग गर्नुको सट्टा इरान समस्याको समाधान खोज्नुपर्ने टिप्पणी गरेका छन्। त्यसै गरी अर्का वरिष्ठ रिपब्लिकन सेनेटर टेड क्रुजले पनि यसलाई एउटा ‘गम्भीर भुूल’ भनेका छन्।
यता युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाको यस निर्णयले रुसी राष्ट्रपति पुटिनलाई प्रोत्साहन मिलेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले अमेरिकाले रुसमाथिका थप प्रतिबन्धहरू पनि हटाउन सक्ने आशङ्का व्यक्त गर्दै रुसी युद्ध र आतङ्कविरुद्ध अन्तर्राष्ट्रिय समुदायले अझ कडा अडान लिनुपर्ने बताएका छन्।