म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। आपत्कालीन अवस्थामा विद्युत आपूर्ति सुचारु गर्न क्यानेडियन प्रविधिमा आधारित अस्थायी टावर (Emergency Restoration System) निर्माण गरी प्रसारण लाइन चालु गरिएको हो। अन्नपूर्ण गाउँपालिका-१ दोवा र वडा नं. ६ धीरच्याङमा रहेका तीन वटा टावर बाढीले ढालेपछि म्याग्दी र मुस्ताङमा सञ्चालित सात वटा जलविद्युत् आयोजनाहरूबाट उत्पादित १७६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको थियो।
नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रदेश ग्रिड शाखाका प्रमुख रोशन खड्काका अनुसार भत्किएका टावरको सट्टा अस्थायी टावर उभ्याएर तार टाङ्ने काम सकिएपछि शनिबार राति १०:३० बजे प्रसारण लाइन चार्ज गरिएको छ। “नेपाल विद्युत् प्राधिकरण र कालीगण्डकी क्षेत्रका जलविद्युत् आयोजनाका प्राविधिकहरूको निरन्तर खटाइबाट बाढीले क्षति पुर्याएको २० दिनभित्रै बिजुली राष्ट्रिय प्रणालीमा पुनः जोड्न सफल भएका छौँ,” खड्काले भने।
प्राधिकरणका सहायक निर्देशक सञ्जय लोहनीले बेनी-जोमसोम सडकखण्डको भिरकाटे पारिपट्टि रहेको अन्नपूर्ण-१ दोबाको औंलामा क्यानेडियन प्रविधिको टावर निर्माण गरी विद्युत् आपूर्ति सहज बनाइएको जानकारी दिएका छन्। यो मर्मत कार्यका लागि विगत १५ दिनदेखि २० जनाभन्दा बढी इन्जिनियर, उत्तिकै सङ्ख्यामा प्राविधिक र ५० जनाभन्दा बढी कामदारहरू निरन्तर खटिएका थिए।