११ असोज, मुस्ताङ । लगातारको वर्षा र हिमपातका कारण जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दी–मुस्ताङ सीमाको काभ्रेभीरदेखि कोरला नाकासम्म विभिन्न स्थानमा पहिरो खस्नुका साथै उपल्लो मुस्ताङमा भारी हिमपात भएपछि सडक यातायात ठप्प भएको हो ।
भारी वर्षाका कारण काभ्रेभीर, घाँसा, मार्फा, कागबेनी तथा कोरला नाका जोड्ने विभिन्न क्षेत्रमा पहिरो, बाढी र सडक कटान भएको छ । घ्याकर खोलामा आएको लेदो र गेग्रानसहितको बाढीले सडक संरचनामा क्षति पुर्याएको प्रहरीले जनाएको छ । बेनी–जोमसोम सडकखण्डका म्याग्दी क्षेत्रमा पनि विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
कोरला नाका क्षेत्रमा भारी हिमपात भएपछि नेपाल–चीन व्यापारसमेत प्रभावित भएको छ । मुस्ताङ भन्सार यार्डमा २०० भन्दा बढी कन्टेनर रोकिएका छन् भने कोरला क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको सशस्त्र प्रहरीको भनाइ छ । हिमपातका कारण नाका क्षेत्रमा व्यापारीले टाँगेका केही पालसमेत भत्किएका छन् ।
वर्षाका कारण मुस्ताङको विद्युत् सेवासमेत प्रभावित भएको छ । चोखोपानीस्थित जलविद्युत् गृहमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द भएको तथा दाना–कोवाङ ३३ केभी प्रसारण लाइनमा समस्या आएपछि जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको जनाइएको छ ।
सडक तथा विद्युत् संरचनामा भएको क्षतिको विवरण संकलनमा सञ्चार सम्पर्कको समस्याले कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले पहिरो तथा लेदो हटाउने काम अघि बढाएका छन् ।