७ असोज, न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा खनालले महावाणिज्यदूतावासको अवलोकन गरेका हुन् ।
अवलोकनका क्रममा महावाणिज्यदूत दधिराम भण्डारीले आयोजना गरेको ब्रिफिङ कार्यक्रममा खनाल सहभागी भएका थिए । कार्यक्रममा महावाणिज्यदूतावासबाट प्रवाह भइरहेका कन्सुलर सेवा, सम्पादन भइरहेका कार्य तथा नेपाली समुदायसँग सम्बन्धित विषयमा जानकारी प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा खनालले विदेशस्थित नेपाली नियोगहरूले नेपालको राष्ट्रिय हित प्रवर्द्धन, नेपाली नागरिकलाई आवश्यक कन्सुलर सेवा उपलब्ध गराउने तथा नेपालसँगको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तारमा निर्वाह गरिरहेको भूमिकाबारे जानकारी लिएका थिए ।
महावाणिज्यदूतावासका अधिकारीहरूले कार्यालयका गतिविधि, आगामी कार्ययोजना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जानकारी गराएका थिए । त्यस अवसरमा खनालले नेपाली नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन तथा नेपालको हित प्रवर्द्धनमा सक्रिय रहन आवश्यक समन्वय र सहकार्यमा जोड दिएका थिए ।
न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको नेतृत्व हाल महावाणिज्यदूत दधिराम भण्डारीले गरिरहेका छन् । महावाणिज्यदूतावासले अमेरिकाको उत्तरपूर्वी क्षेत्रका नौ राज्यमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा प्रदान गर्दै आएको छ ।
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन सेप्टेम्बर २० मा न्युयोर्क जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले यसअघि जनाएको थियो । महासभाका क्रममा उनले विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा द्विपक्षीय भेटवार्तामा सहभागिता जनाइरहेका छन् ।