७ असोज, काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन आज पनि जारी छ । ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा बिहान ९ बजेबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।
एमालेको प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार मंगलबारसम्म ११८ जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरूले धारणा राख्ने कार्यक्रम छ । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्न तीन मिनेटको समय दिइएको छ ।
बैठकमा पार्टी पुनर्निर्माण, निर्वाचन परिणामको समीक्षा, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशालगायत विषयमा सदस्यहरूले धारणा राखिरहेका छन् । अध्यक्ष ओलीले सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टी पुनर्गठनको विषयलाई समेत समेटिएको छ ।
एमाले प्रचार विभागका अनुसार आज केन्द्रीय सदस्यहरूको धारणा राख्ने क्रम सकिएपछि बिहीबार सचिवालय बैठक बस्ने तयारी छ । सचिवालयबाट हुने निर्णयहरू आवश्यक प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कमिटीमा अनुमोदनका लागि प्रस्तुत गरिने बताइएको छ ।
यसअघि एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको थियो । बैठकमा पार्टी पुनर्निर्माण र पुनर्गठनसँगै पछिल्लो राजनीतिक परिस्थिति तथा निर्वाचन परिणामको समीक्षा पनि छलफलको विषय बनेको छ ।