भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः डा तिमिल्सिना

६ असोज, काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा साहित्यिक पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

नेपाल साहित्यिक पत्रकार सङ्घका प्रतिनिधिसँग मन्त्रालयमा भएको भेटमा मन्त्री तिमिल्सिनाले साहित्यिक पत्रकारिता समाजका भाषा, संस्कृति, कला र साहित्यलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने महत्त्वपूर्ण माध्यमका रूपमा रहेको बताएका हुन् ।

विभिन्न मातृभाषा तथा भाषाभाषीमा प्रकाशित पत्रपत्रिकाले सम्बन्धित समुदायको भाषा, संस्कृति र सामाजिक अवस्थाबारे जानकारी लिन सहज बनाउने उनले बताए । दुर्गम तथा ग्रामीण क्षेत्रबाट हुने पत्रकारितालाई पनि राज्यले प्राथमिकताका साथ हेर्ने उनको भनाइ थियो ।

यसअघि जेठमा आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा पनि मन्त्री तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति राष्ट्रको शक्ति तथा पहिचानका आधार भएकाले तिनको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताएका थिए । साहित्य क्षेत्रको दीर्घकालीन विकासका लागि नतिजामुखी र दिगो प्रभाव पार्ने नीतिगत व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो ।

साहित्यिक पत्रिकाका लागि छुट्टै मापदण्डको माग

भेटमा नेपाल साहित्यिक पत्रकार सङ्घले साहित्यिक, सांस्कृतिक, कलात्मक तथा मातृभाषामा प्रकाशित पत्रपत्रिकाका लागि छुट्टै वर्गीकरण तथा मापदण्ड बनाउन सुझाव दिएको छ ।

सङ्घले साहित्यिक अनलाइन पत्रिकालाई समेत वर्गीकरणको मापदण्डमा समेट्नुपर्ने, साहित्यिक पत्रपत्रिकाको ढुवानीमा देखिएका समस्या समाधान गर्न हुलाक सेवामार्फत सहजीकरण गर्नुपर्ने तथा साहित्यिक पत्रकारिताको विकास र प्रवर्द्धनका लागि राज्य र सम्बन्धित क्षेत्रबीच सहकार्य बढाउनुपर्ने माग राखेको छ ।

साहित्यिक पत्रपत्रिकाको प्रकाशन, संरक्षण र प्रवर्द्धनमा राज्यको भूमिका आवश्यक रहेको विषय साहित्यिक क्षेत्रबाट यसअघि पनि उठ्दै आएको छ । ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा वरिष्ठ कथाकार भाउपन्थीले साहित्य सिर्जना, प्रकाशन र प्रवर्द्धनका लागि राज्यका तर्फबाट लगानी आवश्यक रहेको बताएका थिए ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest