न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभामा सहभागी हुन इरानी विदेशमन्त्री सैयद अब्बास अरागची सोमबार कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन्। गत फेब्रुअरीमा अमेरिका र इस्राइलले इरानमाथि सैन्य प्रहार सुरु गरेयता संयुक्त राज्य अमेरिका प्रवेश गर्ने अरागची सबैभन्दा उच्च तहका इरानी अधिकारी हुन्।
न्युयोर्क अवतरण गरेलगत्तै इरानी विदेशमन्त्री अरागचीले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोनवार्ता गरी महासभाका एजेन्डाबारे विचार-विमर्श गरेका छन्। इरानी सञ्चारमाध्यमहरूसँग कुरा गर्दै उनले इरानी जनताको वैधता, अधिकार र हितको रक्षा गर्न राष्ट्रसङ्घजस्तो ठुलो अन्तर्राष्ट्रिय मञ्चको प्रयोग गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्।
यसअघि इरानी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति मसुद पेजेस्कियानले गर्ने र अमेरिकाले उनको सञ्चार टोलीसहित प्रतिनिधिमण्डलका केही सदस्यहरूलाई भिसा दिन अस्वीकार गरेको खबर सार्वजनिक भएको थियो। यद्यपि, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माएल बाकाईले अरागचीले महासभामा कूटनीतिक प्रतिनिधिमण्डलको प्रमुखका रूपमा भाग लिने र विभिन्न देशका विदेशमन्त्री तथा अधिकारीहरूसँग परामर्श गर्ने जानकारी दिएका छन्।
राष्ट्रसङ्घको आयोजक राष्ट्रका रूपमा अमेरिकाले इरानी प्रतिनिधिमण्डललाई यात्राको अनुमति दिए पनि विभिन्न कडा प्रतिबन्धहरू भने कायम राखेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार न्युयोर्क बसाइका क्रममा इरानी प्रतिनिधिमण्डललाई विलासी सामान वा अन्य वस्तुहरू खरिद गर्न प्रतिबन्ध लगाइएको छ।
कतारमा अल्पविराम गर्दै न्युयोर्क पुगेका अरागचीमार्फत इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्ने सर्तहरूबारे मध्यस्थकर्ता कतारमार्फत अमेरिकालाई सन्देश पठाएको जनाएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता इरानले उक्त जलमार्गमा अवरोध पुर्याउँदै आएको छ भने अमेरिकाले इरानी बन्दरगाहहरूमा घेराबन्दी जारी राखेको छ।