जाकार्ता । इन्डोनेसियाको पूर्वी क्षेत्र मध्य पापुवा प्रान्तस्थित पनियाई शहरको एक स्थानीय बजारमा सोमबार मध्यराति भीषण आगलागी हुँदा ६ जना बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ।
प्रहरी प्रवक्ता हेन्री जे मानुरुङका अनुसार मध्यराति सुरु भएको आगो द्रुत गतिमा फैलिँदा बजार क्षेत्रका पसल तथा घरहरू जलेर नष्ट भएका हुन्। घटनामा मृत्यु हुने बालबालिकाहरू २ देखि ९ वर्ष उमेर समूहका रहेका छन्। दमकल तथा वाटर क्याननको प्रयोग गरी करिब तीन घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट कम्तीमा ४० वटा पसल तथा आवासीय घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।
घर तथा पसलहरू एकापसमा जोडिएका र बाक्लो बस्ती भएकाले नियन्त्रणमा लिन कठिनाइ भएको प्रहरीले जनाएको छ। आगलागीको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ। इन्डोनेसियामा सुरक्षा मापदण्डको कमजोरीका कारण यस्ता घातक आगलागीका घटनाहरू पटक-पटक दोहोरिने गरेका छन्।