काठमाडौँ ,१८ भदौ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको छ।
पार्टीले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका काममा पार्टीपंक्तिलाई परिचालन गर्ने निर्णयसमेत गरेको छ। नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार बाढीपीडितलाई सहयोग तथा राहत कार्यमा समन्वय गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौँमा ‘विपद् व्यवस्थापन डेस्क’ स्थापना गरिएको छ।
पार्टीले बाढीबाट प्रभावित नागरिक तथा उनीहरूका परिवार र आफन्तलाई आवश्यक सहयोग तथा सम्पर्कका लागि विपद् व्यवस्थापन डेस्कसँग समन्वय गर्न आग्रह गरेको छ। बेपत्ता व्यक्तिसम्बन्धी सूचना उपलब्ध गराउन पनि पार्टीले आग्रह गरेको जनाएको छ।
यसअघि भदौ १४ गते नेकपाले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ तत्काल जम्मा गर्ने निर्णय गरेको थियो। त्यससँगै प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पठाउने निर्णयसमेत गरेको थियो।
भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सरकारी, निजी क्षेत्र, संघसंस्था तथा सर्वसाधारणबाट सहयोग जुट्ने क्रम तीव्र छ। पछिल्लो विवरणअनुसार बुधबारसम्म डिजिटल माध्यमबाट मात्रै १० लाखभन्दा बढी कारोबारमार्फत ५ अर्ब १८ करोड ७५ लाख रुपैयाँ संकलन भएको छ।