काठमाडौं, १८ भदौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६६ अंकले बढेर २ हजार ५४२.७७ विन्दुमा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३१ अंकले बढेर ४४९.५० विन्दुमा पुगेको छ। फ्लोट परिसूचक ०.१५ अंकले बढेर १७४.३५ तथा सेन्सेटिभ फ्लोट परिसूचक ०.१२ अंकले बढेर १५१.७३ विन्दुमा पुगेको छ।
नेप्सेका अनुसार दिनभर १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
१३ उपसमूहमध्ये नौ वटा उपसमूहको सूचक बढेको छ भने चार वटा घटेका छन्। कुल २७८ कम्पनीमध्ये १४५ कम्पनीको सेयर मूल्य बढेको, १२३ कम्पनीको घटेको र १० कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्था, चिर्खवा हाइड्रोपावर र आशा लघुवित्तका लगानीकर्ताले बढी कमाएका छन्। यस्तै, पियोर इनर्जी, आत्मनिर्भर लघुवित्त र सेन्ट्रल फाइनान्सका सेयरधनीले बढी गुमाएका छन्।
बिहीबारको सामान्य वृद्धिसँगै नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४.६६ अंक माथि पुगेको हो। अघिल्लो दिन नेप्से २ हजार ५३८.११ विन्दुमा बन्द भएको थियो।