उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा आज बिहान स्कुल बसले अटोलाई सीधा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
मृतकमा बेलका–५ की ३४ वर्षीया मन्दिरा मगर र नामथर अझै नखुलेकी अर्की एक महिला रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवैको उपचारका क्रममा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरी सूचना अधिकारी एवं नायब उपरीक्षक गणेशबहादुर बमले बताए ।
दुर्घटना मदनभण्डारी राजमार्गको बेल्टार–चतरा सडकखण्डमा भएको हो । सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको अटो (कोप्र ५–१ ह ०६१३) लाई विपरीत दिशाबाट आएको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस (को १ ख ३५१६) ले ठक्कर दिएको थियो ।
अटोमा चालकसहित पाँच जना सवार रहेकामा सबै घाइते भई धरान लगिएका थिए, जसमध्ये दुई जनाले उपचारकै क्रममा दम तोडे । घाइतेमा अटो चालक इन्द्र थापा (२८, बेलका–५), अजित गुरुङ (विराटनगर–१२) र रोशन मगर (१८, बेलका–५) रहेका छन्, जसको उपचार जारी छ ।
घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले बस र चालक विक्रम थापा (३६, बेलका–५) लाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ ।