मध्यपूर्वबाट फर्कँदै अमेरिकी युद्धपोत ‘युएसएस अब्राहम लिंकन’: मानसिक तनाव र खाद्यान्न अभावको विवाद

वासिङ्टन । इरानसँगको द्वन्द्वका क्रममा मध्यपूर्वमा नौ महिनाभन्दा बढी समय बिताएर अमेरिकी युद्धपोत ‘युएसएस अब्राहम लिंकन’ आफ्नो गृहबन्दरगाह फर्कन थालेको छ। सिबिएस न्युजले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार सो पोतमा कार्यरत सैनिकहरूमा थकान, मानसिक तनाव र खाद्यान्न अभावको चिन्ताबीच यो फिर्ती सुरु भएको हो।

स्यान डिएगोमा आधारित सो विमानवाहक पोत र त्यसका करिब ५ हजार कर्मचारीलाई राहत दिँदै जापानमा तैनाथ ‘युएसएस जोर्ज वासिङ्टन’ ले मध्यपूर्वको जिम्मेवारी सम्हालेको छ।

सन् २०२५ नोभेम्बर २१ मा स्यान डिएगोबाट प्रस्थान गरेको यो पोतलाई फेब्रुअरीमा इरानसँग मुठभेड सुरु भएपछि मध्यपूर्वतिर पठाइएको थियो। मुख्य सैन्य आधारका रूपमा प्रयोग गरिएको सो पोतबाट हजारौँ पटक हवाई हमलाहरू गरिएका थिए, जसका कारण त्यहाँ कार्यरत टोलीमाथि ठूलो कार्यभार परेको थियो।

पोतमा रहेका सैनिकका आफन्तहरूले बिग्रिँदो मानसिक स्वास्थ्य, अत्यधिक थकान र खाद्यान्न अभावको मुद्दा उठाएका छन्। लगातार २०० दिनभन्दा बढी समय बन्दरगाहमा नरोकिई समुद्रमै बिताउनुपरेको भन्दै वासिङ्टनका डेमोक्रेटिक सांसद्‌हरूले पनि सैनिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका थिए।

यद्यपि, अमेरिकी रक्षा अधिकारीहरूले सञ्चारमाध्यममा आएका विवरणहरूलाई अस्वीकार गरेका छन्। अमेरिकी युद्ध सचिव (डिफेन्स सेक्रेटरी) पिट हेगसेथले यी समाचारहरूलाई “पूर्ण रूपमा गलत ढङ्गले प्रस्तुत गरिएको” बताएका छन् भने कार्यवाहक नौसेना सचिव हुङ काओले मिडियाको कभरेजलाई “बेइमान” को संज्ञा दिएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो तैनाथी धेरै लामो भएको दाबीलाई खारेज गरेका छन्। अगस्ट १४ मा २६० दिनभन्दा बढी समुद्रमा बिताउनु अत्यधिक हो कि होइन भनी सोधिएको प्रश्नमा ट्रम्पले लिंकनको सट्टा अर्को पोत आएकाले यो “पर्याप्त लामो समय नभएको” टिप्पणी गरेका थिए।

अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख एडमिरल ब्राड कुपरले भर्खरै पोतको निरीक्षण गर्दै सैनिकहरूको मनोबलको प्रशंसा गरेका छन्। अगस्ट १६ को एक वक्तव्यमा कुपरले अमेरिकी नौसेनाका ११ वटा सक्रिय पोतहरूमध्ये लिंकनमा मानसिक स्वास्थ्यसम्बन्धी समस्याका केसहरू सबैभन्दा कम दर्ता भएको दाबी गरे। यद्यपि, उनले लामो समय समुद्रमा रहनु निकै चुनौतीपूर्ण हुने स्वीकार गरे।

नौसेनाका प्रतिनिधिहरूका अनुसार पोतमा आत्महत्याको प्रयासका घटना बढेका छैनन्। तर, अगस्ट ३ मा पोतबाट खसेका र पछि जीवितै उद्धार गरिएका एक नाविकको घटनाबारे भने छानबिन भइरहेको छ। स्यान डिएगोस्थित गृहबन्दरगाहसम्म पुग्न सो युद्धपोतलाई करिब तीन साता लाग्ने अनुमान गरिएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x